काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारीले आफूहरु कोरोना भाइरसको संक्रमणको चरम बिन्दूमा पुगेको बताएका छन् । उनले अस्पतालहरुमा बिरामी राख्ने ठाउँ नभएकोसमेत स्पष्ट पार्दै सचेत रहेर घरमै बस्न आग्रह गरेका छन् ।
अस्पतालको पेटीपेटीमा राखेरै पनि बिरामीको उपचार गरिएको भन्दै उनले अक्सिजन दिनका लागि पेटीमै भए पनि राखिएको बताए । विभिन्न कारणले गर्दा बजारमा अक्सिजनको अभाव देखाइएको हुन सक्ने पनि डा. राजभण्डारीले बताए ।
उनले लुकेका सिलिन्डरहरु जम्मा गर्ने काम पनि भइरहेको बताए । डा. राजभण्डारीले अस्पतालमा कोटा निर्धारण गरी अक्सिजनका सिलिन्डर दिने भनिएपछि यसले सहज बनाएको बताए ।
तर उनले समन्वय गर्न सकिएन भने त्यसले थप समस्या पार्ने बताए । सर्वसाधारणले घरमा अक्सिजन लुकाएर राखेको हुन सक्ने आँकलन गर्दै उनले ‘त्यसरी नराखौं भन्न चाहन्छु’ भने ।
सोमबार एकैदिन नेपालमा १३९ जनाको ज्यान गएको छ । ज्यान गुमाउने धेरैजसो अक्सिजनको अभावमै ज्यान गएको डा. राजभण्डारीले बताए । उनले युके भेरियन्ट, इन्डियन भेरियन्टमात्र हैन अब काठमाडौं भेरियन्ट पनि हुन सक्ने भन्दै यसको परीक्षण गर्नुपर्नेमा जोड दिएका छन् । उनले भने, ‘काठमाडौंमा संक्रमित बढी छन् ।’
उनले कोरोना महामारी रोक्ने जिम्मा सबैको दायित्वभित्र पर्नेतर्फ संकेत गर्दै भने, ‘नेपालीहरु अत्यन्त ज्ञानी हुनुहुन्छ । उहाँहरु घरमै बस्नुहुन्छ । निषेधाज्ञा धेरै लम्बिदैन । सम्वेदनशील होऔं ।’
उनले मास्कको प्रयोगबारे पनि भने, ‘मास्कको अनिवार्य प्रयोग गरौं । च्यापूमा राख्ने र नाकमुनी राख्ने हैन । आफू पनि बच्ने र अरुलाई पनि बचाउने हो । घरभित्र पनि मास्क लगाउनु पर्छ । साबुन पानीले मिचीमिची हात धोऔं । सीमानामा व्यवस्थापन गरौं ।’
डा. राजभण्डारीले पीसीआर परीक्षण बढाउन पनि जोड दिँदै भने, ‘संक्रमण कम गर्न परीक्षणको दायरा बढाऔं ।’