arrow

'काठमाडौँका ठुला भवनलाई आइसोलेसन केन्द्र बनाइने'

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २८ मंगलबार
pokhrel-isolation.jpg

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले काठमाडौंमा उपलब्ध ठूला भवनलाई आइसोलेशन केन्द्रका रुपमा सञ्चालन गरी कोरोना संक्रमितको उपचार प्रभावकारी बनाइने बताएका छन् । 

स्थानीय वसुन्धरामा सञ्चालन हुन लागेको ‘राधा स्वामी कोभिड आइसोलेशन तथा अक्सिजन थेरापी सेन्टर’को मंगलवार निरीक्षण गर्दै कोभिङ–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रका संयोजक पोखरेलले  मुख्यसचिव डा. शंकरदास वैरागी र काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई  आइसोलेशन केन्द्र संचालन गर्ने प्रबन्ध मिलाउन टेलिफोनबाट निर्देश गरे ।

उपप्रधानमन्त्री पोखरेलको निर्देशनपछि यसैसातादेखि नेपाली सेनाले सो केन्द्र सञ्चालनमा ल्याउने तयारी गरेको छ । तत्काल ८८ शय्याको अक्सिजन थेरापी सुविधासहित चल्न लागेको आइसोलेशन केन्द्रका लागि राधास्वामी केन्द्रले भवन उपलब्ध गराएको हो । 

आवश्यकतानुसार दुई सय शय्यासम्म सञ्चालन गर्ने तयारी गरिएको छ । आइशोलेसन केन्द्रका लागि चाहिने पूर्वाधारका लागि कामपाले बजेट र  नेपाली सेनाले उपचार, सुरक्षा र व्यवस्थापनको जिम्मेवारी लिएका छन् ।  आइशोलेशन केन्द्र चलेपछि कोरोनाका बिरामीको उपचारमा थप राहत मिल्ने विश्वास लिइएको छ ।

उपप्रधानमन्त्री पोखरेललाई नेपाली सेनाका क्लिनिक रजिष्ट्रार महासेनानी डा सुमनराज डंगोलले केन्द्रका बारेमा जानकारी गराएका थिए । सो अवसरमा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी र  उपप्रमुख ज्ञानमाया डंगोलको पनि सहभागिता रहेको उपप्रधानमन्त्रीका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए ।



लोकप्रिय समाचार
नयाँ