पाकिस्तानमा महामारीका समय २०० कोभिड–१९ सङ्क्रमित चिकित्सकको मृत्यु
एएनआई,
प्रकाशित २०७८ वैशाख २९ बुधबार
320
Shares
फाइल तस्बिर
कराँची। महामारी सुरु भएदेखि मङ्गलवारसम्म २०२ चिकित्सकको कोभिड–१९ सङ्क्रमणका कारण मृत्यु भएको पाकिस्तान मेडिकल एसोसिएसन (पीएमए) बाट बुधवार जारी विज्ञप्तिमा भनिएको छ।
पीएमएले कोरोनाभाइरसबाट निधन भएका २०० भन्दा बढी डाक्टरहरूको परिवारलाई क्षतिपूर्ति ‘शुहुदा प्याकेज’ दिन पाकिस्तानी सरकारसँग आग्रह गरेको पाकिस्तानबाट प्रकाशन हुने अङ्ग्रेजी पत्रिका ‘द न्युज इन्टरनेसनल’ले जनाएको छ। यसमध्ये ७४ चिकित्सकहरू पन्जाब राज्यका रहेका थिए भने ६४ सिन्धका थिए।
कोरोनाभाइरसका कारण निधन भएका चिकित्सकमध्ये ५३ जना खैबर पख्तूङ्ख्वाका रहेका छन् भने पाँच बालोचिस्तान र तीन चिकित्सक पाकिस्तान प्रशासित कश्मीर (पीओके) का एक गिलगित–बाल्टिस्तानका रहेका ‘द न्युज इन्टरनेसनल’को रिपोर्टमा उल्लेख छ।
मृतकमध्ये २४ मेडिकल अधिकृत, १९ चिकित्सक र १३ बालरोग विशेषज्ञ तथा केही नाक, कान, घाँटी विशेषज्ञलगायतका चिकित्सकको अग्र मोर्चामा रहेर काम गर्ने सिलसिलामा मृत्यु भएको पीएमएले जानकारी गराएको छ।
पीएमएले मृतक स्वास्थ्यकर्मीले अग्र मोर्चामा रहेर काम गर्ने सिलसिलामा सङ्क्रमित भई ज्यान गुमाएका भन्दै उनीहरूका परिवारजनलाई ‘सुहुदा प्याकेज’ उपलब्ध गराउन आग्रह गरेको छ।
पाकिस्तानी तथ्याङ्क अनुसार बुधवार पाकिस्तानमा दुई हजार ८६९ व्यक्ति सङ्क्रमित भएका र सङ्क्रमण दर ७.४२ प्रतिशत रहेको बताइएको छ।
पाकिस्तानमा सक्रिय सङ्क्रमितको सङ्ख्या ७६ हजार ५३६ रहेको र अहिलेसम्म सात लाख ७१ हजार ६९२ व्यक्ति कोभिड–१९ बाट सङ्क्रमणमुक्त भएका छन्।