काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो निकट १३ सांसदहरुको बैठक भक्तपुरको सूर्यविनायक नगरपालिका सिपाडोलस्थित डोलेश्वर भिलेज रिसोर्टमा जारी छ ।
सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय सकिन केही घण्टा बाँकी रहँदा ठाकुर–महतो समूहमा रहेका पूर्व राजपाका सांसदहरुलाई रिसोर्टमा बैठक बसिरहेका छन् ।
जसपा नेतृ चन्दा चौधरीले विकसित राजनीतिक अवस्थामा कसरी अघि बढ्ने भन्ने विषयमा बैठकमा छलफल जारी रहेको र बैठक सकेर साँझ फर्किने जानकारी दिइन् । ‘विकसित राजनीतिक अवस्थामा कसरी अघि बढ्ने भन्ने विषयमा बैठकमा छलफल जारी छ, धेरैको राय तटस्थ बस्ने भन्ने नै छ, तर छलफल टुंगिएको छैन,’ नेतृ चौधरीले भनिन् ।
सो रिसोर्टमा उनीहरुलाई राख्ने व्यवस्था एमाले सांसद महेश बस्नेतले मिलाएको जसपाका एक सांसदले जानकारी दिए । जसपा अध्यक्ष ठाकुर र नेता महतो भने अहिले बैठकबाट बाहिरिएका छन् ।
उनीहरुले बिहीबार विहान कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटेका थिए भने त्यस लगत्तै सांसदहरुलाई पार्टी कार्यालयमा बोलाएका थिए । पार्टी कार्यालयमा भेला भएका सांसदहरुलाई त्यहाँबाट भक्तपुर पुर्याइएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरुलाई बहुमतको सरकार गठनका लागि बिहीबार बेलुका ९ बजेसम्मको समय दिएकी थिइन् । यो समय नजिकिंदै गर्दा राजनीतिक भेटघाट तथा बैठक तिव्र भइरहेको छ ।