काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिँदै आएको जनता समाजवादी पार्टीको महन्थ ठाकुरपक्षका नेताहरू बिहीबार प्रधानमन्त्रीलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्।
ठाकुरपक्ष एक दुई दिनमै सरकारमा जान लागेको छ। मन्त्रालय बाँडफाँडको अन्तिम टुङ्गो लगाउन बिहीबार प्रधानमन्त्रीसँग कुराकानी भएको ठाकुर पक्षले जनाएको छ। ठाकुरसँग निकट डा. सुरेन्द्र झाले बिहीबार प्रधानमन्त्री र जसपाका नेताहरूबीच भेट भएको स्वीकार गरे।
स्रोतका अनुसार ठाकुर पक्षले सरकारमा ८ मन्त्री र २ राज्य मन्त्री पठाउने तयारी गरेको छ। यता उपेन्द्र यादव पक्षले सरकारमा जाने बित्तिकै साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निकाल्ने चेतावनी दिएको छ।
ठाकुर निकट स्रोतका अनुसार सरकारमा जानु अघि नै ठाकुर पक्षले पार्टीको आधिकारिकताको टुङ्गो लगाउन प्रयास गरेको छ। ठाकुर पक्षका नेताहरूले कार्यकारिणीमा बहुमत नपुगे पार्टी फुटाउन सजिलो हुने गरी अध्यादेश ल्याउन प्रधानमन्त्रीलाई आग्रह गरेका छन्।
बिहीबार प्रधानमन्त्री र ठाकुरबीच भएको भेटमा यसबारेमा पनि कुराकानी भएको स्रोतको भनाइ छ। प्रधानमन्त्रीलाई भेट्न बिहीबार ठाकुर लगायत राजेन्द्र महतो, शरत्सिंह भण्डारी र अनिल झा बालुवाटार पुगेका थिए।
पछिल्लो समय प्रधानमन्त्री ओली र ठाकुरबीच सम्बन्ध निकै बलियो बनेको छ। प्रधानमन्त्रीलाई भेट्न ठाकुर पक्षका नेताहरू बारम्बार बालुवाटार जाने गरेका छन्। ठाकुर पक्षले ओलीलाई साथ दिएको कारण जसपा फट्को अवस्थामा पुगेको छ।