हुम्ला। दोस्रो लहरको कोरोना भाइरसबाट सङ्क्रमित सर्केगाड गाउँपालिका स्वास्थ्य संयोजकलाई श्वास-प्रश्वासमा समस्या भएपछि सिम्रिक एयरको हेलिकोप्टरमार्फत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला लगिएको छ ।
बिहीबार बेलुका देखि जिल्ला अस्पतालमा राखिएका संयोजकको अक्सिजन लेबल ६० मा झरेपछि थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेमबहादुर सिंहले बताए । श्वास-प्रश्वाशको अवस्था निकै सङ्कटग्रस्त भएपछि जिल्ला अस्पताल हुम्लामा भेन्टिलेटरको व्यवस्था नहुँदा जिल्लामा उनको उपचार सम्भव नहुने भएपछि हेलिकोप्टरमा जुम्ला पठाइएको प्रमुख सिंहले बताए ।
सर्केगाड गाउँपालिकाका लागि एजेन्ट किट र अन्य स्वास्थ्य सामाग्री लिन सिमिकोट आएका संयोजकलाई मङ्गलवार गरिएको कोरोना परीक्षणमा सङ्क्रमण पुष्टि भएको थियो । संयोजकलाई श्वास-प्रश्वासमा समस्या भएपछि रानीवन आइसलेसनबाट बिहीबार राति जिल्ला अस्पतालमा सारिएको थियो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली प्रदेशका अन्य अस्पताल भन्दा चिकित्सक र अक्सिजनको हिसाबले पनि सम्पन्न भएकाले संयोजकलाई जुम्ला पठाइएको हो । उनलाई रेस्क्यु गर्न सिम्रिक एयरको हेलिकप्टरमा भक्तपुर ईन्टरनेस्नल अस्पतालका डाक्टर अभिषेक देव नेतृत्वमा चिकित्सक टोली हुम्ला पुगेको स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेमबहादुर सिंहले बताए ।