arrow

हेलिकप्टरबाट बिएन्डसी पुगे १२ सङ्क्रमित 

logo
युवराज रेग्मी,
प्रकाशित २०७८ वैशाख ३१ शुक्रबार
bnc-helicopter.jpg

झापा । देशका विभिन्न अस्पतालबाट शुक्रवारसम्ममा १२ जना कोरोना सङ्क्रमितहरूलाई हेलिकप्टर मार्फत थप उपचारका लागि झापाको बिएन्डसी अस्पताल भर्ना गरिएको छ । कोरोना भाइरस कोभिड १९ को दोस्रो लहरको जटिल परिस्थितिमा अस्पतालहरूमा सुबिधासहितको उपचार कक्ष नपाउँदा गम्भीर प्रकृतिका बिरामी हरूलाई हेलिकप्टरबाट बिएन्डसी अस्पताल ल्याइएको हो ।

यसै अनुरूप कोभिड सङ्क्रमितको भरोसाको केन्द्र बनेको झापा जिल्ला बिर्तामोड नगरपालिकाको बिएन्डसी अस्पतालमा शुक्रवार दोलखा चरिकोटका जटिल अवस्थाका ५० वर्षका कोरोना सङ्क्रमित बिरामी फणीन्द्र श्रेष्ठलाई भेन्टिलेटर सहितको सघन उपचार आवश्यक भएपछि हेलिकप्टरबाट झापाको बिएन्डसी ल्याइएको छ ।

त्यसै गरी हिजो बिहीबार काठमाडौँ स्थित सातदोबाटोकि ५७ वर्षीया सावित्रा श्रेष्ठलाई उपचारका लागि विएन्डसी ल्याइएको अस्पतालका सूचना अधिकारी प्रमिश गिरीले जानकारी दिएका छन् । 

कोरोना सङ्क्रमण पुष्टि भई होम आइसोलेसनमा रहेकी श्रेष्ठलाई काठमाडौँमा अक्सिजन सहितको बेड नपाउँदा बिर्तामोड स्थित बिएन्डसी ल्याइएको अस्पतालका जनसम्पर्क अधिकारी गिरीले जानकारी दिएका हुन । पछिल्लो समय झापा जिल्लाको बिर्तामोड स्थित बिएन्डसी अस्पतालमा देशका विभिन्न स्थान हरूबाट दैनिक जसो कोरोना सङ्क्रमितहरू एयर लिफ्ट मार्फत बेड सिफ्ट गरी ल्याउने गरिएको गिरिले बताएका छन् ।

 मङ्गलवार अल्टिचुड एयरको हेलिकप्टर मार्फत नेपालगन्जका ६१ वर्षीय प्रेमकुमार सोनी र ओखलढुङ्गाका ५५ वर्षीय नरनाथ फुयाँललाई बिएन्डसी ल्याएको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिस गिरीले जानकारी दिएका छन् । त्यसै गरी वैशाख २७ गते पनि ३ जना कोरोना सङ्क्रमित हरूलाई बिएन्डसी ल्याइएको थियो । 

भेन्टिलेटर सहित सघन उपचार कक्ष तथा अक्सिजनको अभाव भएपछि काठमाडौँका दुई र काभ्रेपलान्चोकका एक सङ्क्रमितलाई एयर लिफ्ट मार्फत बेड सिफ्ट गरी बिर्तामोड ल्याइएको थियो ।

गिरीका अनुसार ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचाररत सोलुखुम्बुका ५० वर्षीय सार्की शेर्पा, मनमोहन मेमोरियल अस्पतालबाट दोलखाका ५५ वर्षीय चन्द्रबहादुर लाखे र काभ्रेका ३६ वर्षीय सुशीला योगी लाई हवाई बेड सिफ्ट गरी उपचारार्थ बिएन्डसी भर्ना गरिएको छ ।

यसअघि काठमाडौँ सहित दाङ जिल्ला र पर्सा जिल्लाको वीरगन्ज लगायतका ठाउँबाट ल्याइएका जटिल अवस्थाका सङ्क्रमितको बिएन्डसीमा उपचार भइरहेको छ । 

उत्कृष्ट भौतिक पूर्वाधार, दक्ष स्वास्थ्यकर्मी तथा अन्तर्राष्ट्रिय गुणस्तरको मापदण्ड अनुसारका प्रयोगशाला भएको दाबी गरिएको सो अस्पताल देशभरकै अब्बल मानिएको छ ।

अस्पतालमा कोरोनाका जटिल बिरामीलाई थप उपचार गर्न अत्याधुनिक भेन्टिलेटर सहित अलग्गै आइसियु शय्या स्थापना गरिएको छ । अस्पतालले कोभिड १९ का बिरामीलाई उपचार गर्न आइतबार देखि २०० शय्या सञ्चालनमा ल्याएको छ । 

साथै अस्पतालमा हालसम्म उपचारका लागि आवश्यक पर्ने अक्सिजनको अभाव नरहेको गिरीले बताएका छन् । अस्पतालमा ६०जना चिकित्सक सहित आवश्यक स्वास्थ्यकर्मीहरू तयारी अवस्थामा रहेको अस्पतालले श्रोतले जनाएको छ ।

विशेष गरी कोभिडका बिरामीलाई क्रिटिकल केयर र एनेस्थेसियाका वरिष्ठ चिकित्सक डा. राजु श्रेष्ठ, फिजिसियन चिकित्सक द्वय डा. लक्ष्मण ठाकुर र डा.करुण पोखरेल तथा अर्थोपेडिक सर्जन डा. इन्साक खान लगायतले सेवा प्रदान गरिरहेका छन् ।



लोकप्रिय समाचार
नयाँ