arrow

पत्रकार महासङ्घद्वारा मिडिया अवलोकन तथा स्वास्थ्य सामग्री वितरण

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ३१ शुक्रबार
dotis.PNG

डोटी । नेपाल पत्रकार महासङ्घ डोटी शाखाले जिल्लामा रहेका सञ्चार माध्यमहरूको अवलोकन गरेको छ । कोरोना भाइरस (कोभिड १९) का कारण सञ्चार माध्यम र सञ्चारकर्मीमा परेको प्रभाव र असरका विषयमा अवलोकन गर्नुका साथै पत्रकारहरूलाई स्वास्थ्य सुरक्षाका सामग्रीहरू वितरण गरिएको महासङ्घले जनाएको छ ।

पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश उपाध्यक्ष एवं डोटी शाखाका निवर्तमान अध्यक्ष योगेन्द्र बलायर, डोटी शाखाका उपाध्यक्ष अरुण बम र सचिव पवन महराले स्वास्थ्य सामग्री वितरणसँगै सञ्चार माध्यमहरूको अवलोकनको गरेका हुन् । योसँगै टोलीले जिल्लामा कार्यरत कोरोना सङ्क्रमित पत्रकारहरूसँग भेटघाट एवं स्वास्थ्य अवस्थाका विषयमा समेत जानकारी लिएको छ ।

जिल्लाबाट छापा माध्यमबाट प्रकाशित हुने कतिपय दैनिक तथा साप्ताहिक पत्रपत्रिकाहरू महामारीका कारण बन्द रहेको र कतिपयले अनलाइन अङ्कहरू प्रकाशन गरिरहेको अवलोकन टोलीले जनाएको छ । टोलिका अनुसार हाल जिल्लामा रहेका रेडियो, एफ.एम. र अनलाइन पत्रिकाहरू निरन्तर सञ्चालनमा रहेका छन् । 

पछिल्लो समय रेडियोमा कार्यरत तीन जना पत्रकारहरू कोरोना सङ्क्रमित छन् भने एक जनाको कोरोना सङ्क्रमणका कारण निधन भएको छ । सङ्क्रमित तीन जना मध्य एक जनाको रिपोर्ट नेगेटिभ आएको छ भने दुई जना सङ्क्रमित छन् । सङ्क्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको महासङ्घका प्रदेश उपाध्यक्ष बलायरले जानकारी दिए ।

महासङ्घले जिल्लामा क्रियाशील पत्रकार एवं सञ्चार माध्यममा पुगेर सेनेटाइजर, मास्क, फेस फिल्डर लगायतका सामग्रीहरू वितरण गरेको महासङ्घका सचिव पवन महराले बताए । उनले दोस्रो चरणमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण समुदाय स्तरमै फैलिएको र पछिल्लो समयको सङ्क्रमण जटिल खालको भएका कारण पत्रकारहरूलाई स्वास्थ्य सुरक्षा मापदण्ड पालन गर्न अनुरोध गरेको बताए । महामारीको जटिल समयमा आफू सुरक्षित रहेर सकभर फोन इन्टरनेटबाटै सूचना संकलन गर्न र प्रवाह गर्न समेत आह्वान गरिएको उनले बताए ।

वर्ल्ड भिजन नेपाल र मानवीय सेवामा अनेकौँ प्रयास (साइन नेपाल) कैलालीको सहयोगमा प्राप्त सामग्रीहरू सञ्चार माध्यम र सञ्चारकर्मीको निवासमै पुगेर वितरण लिएको शाखाका उपाध्यक्ष अरुण बमले बताए । महासङ्घले यस अघि पनि  स्वास्थ्य सामग्रीहरू वितरण गरेको थियो ।

जिल्लामा क्रियाशील पत्रकारहरूमा स्वास्थ्य समस्या देखिए वा कोरोना सङ्क्रमण देखिए पत्रकार महासङ्घमा सम्पर्क गर्न समेत आह्वान गरिएको छ । महासङ्घले यस अघि विज्ञप्ति जारी गर्दै फन्ट लाइनमा रहेर महामारीसँग जुझिरहेका पत्रकारहरूको उपचार, चेकजाँच निःशुल्क र सहज रूपमा उपलब्ध गराउन सरोकारवालालाई अपिल गरेको छ ।



लोकप्रिय समाचार
नयाँ