इस्लामाबाद। पाकिस्तानको पन्जाब प्रान्तस्थित एक नहरमा शुक्रवार बेलुकी यात्रुवाहक भ्यान खस्दा एकै परिवारका ११ जनाको मृत्यु भएको छ। देशको पूर्वी प्रान्तको शिखुपुरा जिल्लामा उक्त घटना भएको हो अधिकारीहरूले बताएका छन्। मृत्यु भएका ११ जनामध्ये सात जना बालबालिका, तीन महिला र एक पुरुष रहेका छन्।
घटना भए लगत्तै प्रहरीले उक्त स्थानमा पुगेर नहरमा डुबेका व्यक्तिहरूलाई बाहिर निकालेको थियो। प्रहरीका अनुसार एउटा परिवारका सदस्यहरू पन्जाबको गुजरनवाला जिल्लामा नातेदारसँग भेटघाट गरेर आफ्नो गाउँ खानखा डोगरान फर्किँदै थिए।
प्रत्यक्षदर्शीहरूले नहरको बाटोमा तीव्र गतिमा भ्यान दौडिएको र अनियन्त्रित भएर नहरमा खसेको बताएका छन्। पाकिस्तानमा सडकको अवस्था कमजोर रहेका कारण वर्षैपिच्छे धेरै सडक दुर्घटना हुने गरेका छन्।