काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघेको छ । पछिल्लो समय कोरोनाबाट १४५ संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या पाँच हजार एक पुगेको मन्त्रालयले जनाएको छ ।
आइतवार थप सात हजार ३६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको सङ्ख्या चार लाख ५५ हजार २० पुगेको छ ।
थप १९ हजार ४३९ जनाको पिसिआर परीक्षण तथा २४४ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएकामा पिसिआर विधिबाट सात हजार ३१६ तथा एन्टिजेनबाट ५३ जनामा संक्रमण पुष्टि भएको हो ।
हालसम्म पिसीआर परीक्षण गराउनेको सङ्ख्या २७ लाख ७० हजार ९८० जना पुगेको छ । हाल ७०१ संक्रमित क्वारेन्टिनमा रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
हालसम्म तीन लाख ३९ हजार ७५६ जना कोरोना भाइरसबाट मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर ६ हजार ६४८ संक्रमित निको भएर घर फर्किएका छन् । शनिबार पाँच हजार ४५५ संक्रमित निको भइ घर फर्किएका थिए । निको हुने दर ७४ दशमलव सात प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
हाल देशभर एक लाख १० हजार २६३ सक्रिय संक्रमित रहेका छन् । संस्थागत आइसोलेसनमा सात हजार ८०८ तथा होम आइसोलेसनमा एक लाख दुई हजार ४५५ रहेका छन् । हाल देशभर ७०१ संक्रमित क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।
उपत्यकामा दुई हजार ६०९ संक्रमित
काठमाडौँ उपत्यकामा पछिल्लो समय दुई हजार ६०९ संक्रमित थपिएका छन् । काठमाडौँमा एक हजार आठ सय ८१, ललितपुरमा ४३६ र भक्तपुरमा २९२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
काठमाडौँमा हाल सक्रिय संक्रमितको संख्या २९ हजार ६५ रहेको छ । हालसम्म कोरोनाबाट एक लाख ३२ हजार ८१५ निको भएका छन् भने एक हजार १३८ संक्रमितको मृत्यु भएको छ । यस्तै ललितपुरमा हाल सात हजार ११८ सक्रिय संक्रमित रहेका छन् ।
हालसम्म २० हजार ३४१ संक्रमित निको भएका छन् भने कोरोनाबाट ३०४ संक्रमितको मृत्यु भएको छ । यस्तै भक्तपुरमा चार हजार ९७८ सक्रिय संक्रमित छन् । निको हुनेको संख्या ११ हजार ३४३ रहेको छ भने २२१ संक्रमितले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।