हुम्ला । हिमाली जिल्ला हुम्लामा कोरोना संक्रमितको संख्या ७६ पुगेको छ । सोमबार मात्रै ताजाकोटमा ९ जना, चंखेली ८ जना र सर्केगाड १ जना गरी थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ७६ जना पुगेको हो ।
तीमध्ये ११ जना निको भएका छन् भने एक जनालाई उपचारको लागि जिल्ला बाहिर रेफर गरिएको छ । अब सक्रिय संक्रमितको संख्या जिल्लामा ६५ जना पुगेको छ ।
हालसम्म कोरोना संक्रमित हुनेहरुमा ताजाकोटका २९ जना रहेका छन् भने अदाचुलीमाका ८ जना रहेका छन् । त्यस्तै चंखेलीमा ८ जना, सर्केगाड, ११ जना र सिमकोट अस्पतालमा २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
दिनकै संक्रमित थपिन थालेपछि अक्सिजन सहितको आइसोलेसन बेड र क्वारेन्टिनको व्यवस्था तत्कालै गर्नुपर्ने माग स्थानीयहरुले गरिरहेका छन् ।
तर पालिकाहरुले भने पहल अगाडि बढाएका छैनन् । केहीले बजेट अभाव देखाइरहेका छन् भने केहीले भएको रकमको समेत सदुपयोग गर्न सकेका छैनन् ।
कोभिड–१९ को रोकथाम नियन्त्रण, अक्सिजन सहितको आइसोलेसन बेड र क्वारेन्टिन व्यवस्थापनको लागि भनेर कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले नेपाली कांग्रेसले चुनाव जितेका सिमकोट र खार्पुनाथ गाउँपालिका बाहेक (अन्य ५ वटा गाउँपालिका) तांजाकोटमा ५१ लाख ७० हजार, अदानचुलीमा ३६ लाख ७० हजार, चंखेलीमा ४१ लाख ७० हजार, सर्केगाडमा ४६ लाख ७० हजार र नाम्खामा २५ लाख रकम २०७७ चैत्र २५ गते नै पठाइसकेको बताइएको छ ।
प्रदेश कोलेनिका कार्यालय हुम्लाले रकम निकासा लिएर कोभिड रोकथाम र नियन्त्रणमा खर्च गर भन्दा पनि पालिकाहरु भने रकम निकासा गरेर लिन नआएको जनाएको छ ।
अहिलेसम्म नाम्खा बाहेक अरू ४ वटा गाउँपालिकाले रकम निकासा नगरेको बताइएको छ । बजेट पाएका पालिकाले समेत कुनै पहल गर्न नसक्दा कोरोना फैलिन सक्ने चिन्तामा स्थानीय छन् ।
सिमकोट र खार्पुनाथ गाउँपालिकामा भने प्रदेश सरकारले बजेट नै दिएको छैन । जिल्लामा यी दुई गाउँपालिकामा नेपाली कांग्रेसले चुनाव जितेको हो । अहिले बजेट बाँडफाडमा पनि राजनीति गरेको ती पालिकाका स्थानीयको आरोप छ ।
स्थानीय आक्रोशसहित भन्छन्, ‘गाउँगाउँमा अक्सिजन चाहिन्छ, अक्सिजन सहितको आईसोलेसन बेड र क्वारेन्टिनको ब्यबस्था हुनुपर्छ, गर्नुपर्छ । यो सबैको माग हो। सिमकोट र खार्पुनाथ गाउँपालिकामा के कोरोना संक्रमण छैन ? त्यहाँ कोरोना रोकथाम र नियन्त्रण गर्नु पर्दैन कि सामाजिक मन्त्रालयका तत्कालीन मन्त्री ज्यूसँग दुवै गाउँपालिकाका अध्यक्ष सिद्धान्तिक बिचार नमिल्ने भएर हो किन सिमकोट र खार्पुनाथ गाउँपालिकालाई मात्र किन सौतेनी व्यवहार ? के सिमकोट र खार्पुनाथ गाउँपालिकाका जनता हुम्लाका नागरिक होइनन् ? के तिनलाई औषधि उपचार चाहिदैन ? कि मन्त्री ज्यूका भोटर नभएर हो ? हामीलाई यसको जवाफ चाहियो ।’