काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ प्रधानमन्त्रीका लागि गरेको दाबीलाई असङ्गत मात्र होइन अवैधानिक र अनैतिक भएको प्रतिक्रिया दिएका छन् ।
विपक्षी गठबन्धनबाट नयाँ सरकार गठन प्रक्रियाका लागि १४९ सांसदको हस्ताक्षरसहितको पत्र राष्ट्रपतिलाई बुझाउनु अघि नै ओलीले १५३ जना सांसदको समर्थनसहित सरकारको दाबी गरेपछि थापाले यस्तो प्रतिक्रिया जनाएका हुन् ।
शुक्रबार साँझ सामाजिक संजालमार्फत थापाले प्रधानमन्त्री ओलीको गलत कदमलाई साथ दिएको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीमाथि पनि प्रश्न उठाएका छन् । उनले लेखेका छन्, ‘यो प्रस्ट हुँदाहुँदै आज प्रमले बहुमतको समर्थन छ भन्दै दाबी गर्नु असङ्गत मात्र होइन अवैधानिक र अनैतिक छ। राष्ट्रपतिज्यू, तपाईंमा ओलीको जालझेल र अपराधमा साथ दिँदा लागेको दागै दाग छ। महामहिमलाई परिस्थितिले अन्तिम पटक सुध्रिने मौका दिएको छ । नभए भीरबाट खस्नेलाई राम राम ।’
थापाले १५३ जनाको समर्थन भएको भए सरकारले ७६(३)को विश्वासको मत लिने वैधानिक बाटो किन छाडेको भनी प्रधानमन्त्री ओलीलाई प्रश्न समेत गरेका छन् । उनले लेखेका छन्, ‘१५३ जनाको समर्थन भएको भए सरकारले ७६(३)को विश्वासको मत लिने वैधानिक बाटो किन छोडेको ? प्रमले नै ‘ विश्वासको मत लिन सक्दिन र पहिलाभन्दा तात्त्विक फरक छैन भनेर ७६(५)को सरकार गठनको ढोका खोल्ने,राष्ट्रपतिले, विश्वासको मत प्राप्त गर्ने आधार नदेखिएको’ भन्दै आव्हान गर्ने। अब फेरी जालझेल ।’
राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ वमोजिम नयाँ सरकार गठनको प्रक्रिया शुरु गर्न मिति २०७८ जेठ ७ गते साँझ ५ः०० बजे सम्मको समय दिएकी थिइन । उक्त समयावधिमा नयाँ प्रधानमन्त्रीमा ओली र विपक्षी गठबन्धनबाट कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपति समक्ष दाबी पत्र पेश गरेका छन् ।