काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले निषेधाज्ञा उल्लङ्घन गरेर सडकमा आउनु गलत भए पनि सरकारकै कारण वाध्यता भएको बताएका छन् ।
शुक्रबार सरकारका असंवैधानिक गतिविधि विरुद्ध विभिन्न विद्यार्थी संगठन र बृहत नागरिक आन्दोलनको प्रदर्शनलाई लक्षित गर्दै थापाले प्रतिक्रिया जनाएका हुन् ।
उनले शुक्रबार दिउँसो सामाजिक संजालमार्फत देशको सचेत नागरिक सडकमा आउनुको विकल्प नभएको उल्लेख गरेका छन् ।
उनले लेखेका छन्, ‘निषेधाज्ञा उल्लङ्घन गरेर सडकमा आउनु गलत हो। तर जब सरकारले नै आफ्नो क्षुद्र स्वार्थको लागि, जनस्वास्थ्यमा पर्ने दीर्घकालीन असरलाई पूर्ण वेवास्ता गर्दै , कोरोनाले निम्त्याएको परिस्थिति र निषेधाज्ञाबाट फाइदा उठाउने प्रपन्च गर्छ, देशको सचेत नागरिक सडकमा आउनुको विकल्प हुँदैन ।'