झापा । पछिल्लो २४ घन्टामा झापा जिल्लामा चार जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ । ज्यान गुमाउनेमा मेचीनगर नगरपालिका वडा नं ७ का वडाध्यक्ष चन्दन मेचेको कोरोना संक्रमणबाट मृत्यु भएको छ।
बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारका क्रममा उनको मृत्यु भएको अस्पतालका जनसम्पर्क अधिकारी बमबहादुर बस्नेतले जानकारी दिएका छन् । कोरोना संक्रमण भएपछि विगत ११ दिनदेखि उनी अस्पतालमा उपचाररत थिए ।
स्वास्थ्यमा समस्या देखिएपछि बैशाख २८ गते गरिएको स्वाब परीक्षणमा उनलाइ कोरोना संक्रमण पुष्टि भएको थियो । मृतक मेचे कांग्रेसको भातृ संगठन आदिबासी जनजाति संघ झापाका जिल्ला अध्यक्ष हुन् ।
त्यस्तै शनिबार बिहान हल्दिबारी–१ का २९ वर्षिय एक पुरुषको बिर्तासिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाले जानकारी दिएका छ्न ।
त्यस्तै बुद्धशान्ति गाउँपालिका वडा नं ४ का ६२ वर्षिय पुरुषको गएराति बिर्तासिटी अस्पतालमै मृत्यु भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भोला अधिकारीले बताए । गौरादह नगरपालिका वडा न ४ खाङ्टाका ३० वर्षीय पुरुषको कोशी कोभिड अस्पतालमा शनिबार बिहान मृत्यु भएको छ ।