प्रतिनिधि सभा विघटन असंवैधानिक र अलोकतान्त्रिक कदम : सभामुख
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ८ शनिबार
472
Shares
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री नियुक्त गर्ने विकल्प रहँदा रहँदै सार्वभौम प्रतिनिधि सभा विघटन गर्नु संविधानको मर्म विपरित भएको प्रतिक्रिया दिएका छन् ।
शुक्रबार राति प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा गरिएको प्रतिनिधि सभा विघटनलाई सभामुखले असंवैधानिक र अलोकतान्त्रिक भनेका छन् ।
शनिबार विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभा विघटन सर्वोच्च अदालतको संवैधानिक इजलासको २०७७ फागुन ११ गतेको फैसलाको विपरीत देखिएको उनको भनाइ छ ।
‘सम्मानित सर्वोच्च अदालतको उक्त फैसलामा ‘अन्य विकल्प हुँदाहुँदै कसैको इच्छा वा आत्मनिष्ठ रुपमा देखेको आवश्यकताका आधारमा आवधिक चुनाव बाहेकको अवस्थामा जनतालाई समेत आर्थिक दायित्व पर्नेगरी प्रतिनिधि सभा विघटन गरिनु संविधानको मर्म र उदेश्य नहुँदा त्यस्तो कार्य संविधान सम्मत हुँदैन’, विज्ञप्तिमा भनिएको छ ।
संविधानको धारा ७६ (५) अनुसार वैकल्पिक सरकार गठनका लागि वस्तुगत आधार पेश भइसकेको अवस्थामा प्रधानमन्त्री नियुक्त गर्ने विकल्प रहँदा रहँदै सार्वभौम प्रतिनिधि सभा विघटनको निष्कर्षमा पुग्नु स्वाभाविक र संवैधानिक कदम मान्न नसकिने सापकोटाको निष्कर्ष छ ।