काठमाडौँ । वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले आफू जनताको सेवक भएको बताएका छन् । अक्सिजन सिलिन्डरमा स्टिकर टाँसिएको भनेर विवादित बनेको भोलिपल्ट मन्त्री आलले यस्तो दाबी गरेका हुन् ।
उनले जिल्ला अस्पताल डोटीमा चार कन्सन्ट्रेटरसमेत आफ्नै लगानीमा किनेर प्रदान गरेको बताउँदै भने, “म व्यापारी होइन, जनताको सेवक हुँ, छातीमा हात राखेर भन्छु मैले किनेर दिएको सामान विदेशी अनुदानको होइन ।”
सेती प्रादेशिक अस्पताल कैलालीमा मङ्गलवार अक्सिजन सिलिन्डर वितरण कार्यक्रममा मन्त्री आलेले विदेशीले दिएको नभई आफ्नै खर्चमा किनिएको बताए ।
जिल्ला अस्पताल डोटीमा वितरण गरिएका ७५ अक्सिजन सिलिन्डर मद्ये १५ स्वास्थ्य सेवा विभागले प्रदान गरेको र ६० वटा आफूले किनेर दिएको उनले बताए ।
सोमबार हेलिकप्टर मार्फत गृह जिल्ला डोटी पुगेर मन्त्री आलेले अक्सिजन सिलिन्डर वितरण गरेका थिए । उनले हस्तान्तरण गरेका अक्सिजन सिलिन्डरमा ‘नेपाल सरकारका वन तथा वातावरण मन्त्री प्रेमबहादुर आले ज्यूको व्यक्तिगत सहयोगबाट प्राप्त स्वास्थ्य सामग्री’ टाँसिएको थियो ।
उनले भने, “अक्सिजन नभएर नागरिकले ज्यान गुमाइरहेका बेलामा भ्रामक समाचार सम्प्रेषण हुनु आफैँमा नराम्रो हो, सकिन्छ भने सत्य समाचार लेखौँ, सकिँदैन भने गलत प्रचार नगरिदिऔँ ।”
महामारीका बेलामा आफ्ना नागरिकको ज्यान बचाउनु नेताहरुको धर्म र कर्तव्य भएको जनाउँदै आफूले अन्य समयमा पनि बिरामी नागरिकलाई पटक पटक स्वास्थ्योपचारका लागि व्यक्तिगतदेखि सामूहिक सहयोग गर्दै आएको जानकारी दिए ।
मन्त्री आलेले आफ्नो व्यक्तिगत खर्चमा डोटीमा ६० थान अक्सिजन सिलिन्डर, एक लाख ५० हजार मास्क तथा सेती प्रादेशिक अस्पताल कैलालीमा ५० थान भरिएका अक्सिजन सिलिन्डर र ५० हजार मास्क प्रदान गरेको उनको सचिवालयले जनाएको छ ।
मन्त्री आलेले आफ्नो व्यक्ति लगानीमा डोटी र सेती प्रादेशिक अस्पतालमा गरी कुल ११० अक्सिजन सिलिन्डर प्रदान गरिसक्नुभएको छ ।