arrow

शव व्यवस्थापन नहुँदा मसानघाट दुर्गन्धित, कुकुर र स्यालले खाए शव

logo
राम धामी,
प्रकाशित २०७८ जेठ १२ बुधबार
ghatal-than-ghat.jpg
फाइल तस्बिर

डडेलधुरा । डडेलधुरासहित सुदूरपश्चिम प्रदेशको धार्मिक आस्थाको केन्द्र अमरगढी नगरपालिका–३ घटाल थानस्थित मसान घाटमा कोरोना सङ्क्रमित मृतकको शव नजलाएरै छोडिँदा दुर्गन्धित भएको  छ । 

अमरगढी नगरपालिकाका २ र ३ वडाका १७ वटा गाउँको बिचमा रहेको मसान घाटमा कोरोना सङ्क्रमित मृतकको शव नजलाएरै खाडलमा गाड्दा दुर्गन्ध फैलिएको हो । डडेलधुरामा दिनप्रतिदिन सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा मृतकको सङ्ख्या पनि बढ्दो छ । डडेलधुरामा मृत्यु भएकाहरूको शव घटाल थानमा लैजाने गरिएको छ । कोरोना सङ्क्रमितको शव आधा जलाएर उत्तिकै छोड्ने गरेकोले कोरोना महामारी सङ्क्रमणको जोखिम बढ्ने भन्दै स्थानीय चिन्तित भएका छन् । 

घटाल क्षेत्र विकास समाजले दाउराको व्यवस्था गर्दागर्दै पनि शव जलाउनुको साटो चरम लापरबाही हुने गरेको स्थानीय राजेन्द्र जैशीले बताए । ‘शव नजलाएर खाडलमा गाड्दा समस्या भएको छ । खाडलमा पुरिएको शव कुकुर र स्यालले निकालेर खान्छन् । यसले घटाल क्षेत्रमा दुर्गन्ध फैलाएको छ,’ उनले भने, ‘यसबाट महामारीको  जोखिम बढेको छ भने सरोकारवालाको चरम लापरबाही देखिएको छ ।’ 

कोरोना सङ्क्रमितको शव राम्रोसँग व्यवस्थापन नगरेर उत्तिकै छोड्ने गरेको भन्दै स्थानीय चक्र साउँदले रोष प्रकट गरे । ‘कोरोना महामारीले मानव समुदाय आक्रान्त छ । कोरोना सङ्क्रमण भएर मृत्यु भएका व्यक्तिहरूको शव त्यसै छोड्ने गरिएकाले दूरगामी असर पर्ने देखिएको छ,’ उनले भने । यस्तै लापरबाही बढ्दै गएमा स्थानीयहरूले प्रतिकार गर्ने दिन नआओस् भन्दै उनले सम्बन्धित निकायको  ध्यानाकर्षण गराए । 

घटाल थानमा सीमित गाउँका मात्रै शवहरू आउने गरेको भए पनि कोरोना महामारी पश्चात् यहाँ मृत्यु हुने मृतकहरूका शवहरू पनि घटाल थानमा अन्त्येष्टि गर्ने गरिएको छ । सीमित क्षेत्र बाहेक अन्यत्रको शव नपठाउन आग्रह गर्दै घटाल क्षेत्र विकास समाजले जिल्ला प्रशासन कार्यालय डडेलधुरालाई पत्र पठाएको छ । घटाल थानमा शव राम्रोसँग व्यवस्थापन नगर्दा समस्या भएको भन्दै शव लैजान रोक लगाउँदा पनि प्रहरी लगाएर शव लैजाने गरेको वडाध्यक्ष गोविन्दराज बोहराले बताए । 

नेपाल सरकारको कार्यविधिमा नै चलनचल्तीमा रहेको मसानमा शव व्यवस्थापन गर्नुपर्ने रहेको अमरगढी नगरपालिकाका नगरप्रमुख विश्वेश्वरप्रसाद ओझाले बताए । उनले तत्काल अन्यत्र मसानघाट बनाउने अवस्था नभएको बताए । डडेलधुराका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले यस बारेमा आफू अनविज्ञ रहेको बताए । घटाल क्षेत्र विकास समाजले जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाउँदा समेत सिडिओ घिमिरेले अनभिज्ञता प्रकट गरेका हुन । 

‘सर्वपक्षीय निर्णय अनुसार मसान घाटमा लगेर शव जलाउने भनेको हो । प्रशासनले पठाउने पनि होइन,’ सिडिओ घिमिरेले भने, ‘स्थानीय तहले देखाउने हो । नेपाली सेनाले शव व्यवस्थापन गर्ने हो ।’ उनले भने, ‘तपाईँले आँखैले देख्नु भयो ? अहिले म बाहिर छु । यसबारेमा खासै जानकारी छैन ।’



लोकप्रिय समाचार
नयाँ