कोरोना महामारीको तीव्र वृद्धि भएपछि पाकिस्तानको बलुचिस्तानमा आईसीयू बेडहरू थप गर्न आग्रह
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १३ बिहिबार
170
Shares
फाइल तस्बिर
बलुचिस्तान। कोरोना महामारीको दोस्रो लहरले पाकिस्तानलाई पनि आक्रान्त बनाएको छ । पाकिस्तानमा हालसम्म कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या आठ लाख ७५ हजार पुगेको छ भने १९ हजार ४ सयभन्दा बढीको मृत्यु भइसकेको छ ।
यसमा पनि स्रोत साधन निकै कम भएको पाकिस्तानको बलुचिस्तान प्रान्त बढी प्रभावित भएको छ । कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दैनिक वृद्धि हुँदै गएपछि स्वास्थ्य प्रणालीले थेग्न नसक्ने अवस्था सिर्जना भएको छ । यस्तो अवस्थामा बलुचिस्तानका प्रान्तीय स्वास्थ्य सचिवले निजी अस्पतालका मालिकहरूलाई आईससीयूको सङ्ख्यामा वृद्धि गर्न आग्रह गरेका छन् ।
यससँगै अस्पतालहरूमा अक्सिजनको नियमित आपूर्तिको व्यवस्था गर्नसमेत सरकारलाई स्वास्थ्य अधिकारीहरूले आग्रह गरेका छन् । पाकिस्तानमा पछिल्लो २४ घण्टामा करिब दुई हजार कोरोना भाइरस सङ्क्रमित थपिएका छन् ।
मे ३ देखि पाकिस्तानमा कोरोना भाइरसविरुद्धको खोप लगाउनका सहजताका लागि दुई वटा मोबाइल एकाइहरू सुरु गरिएको छ । वृद्धहरूले उनीहरूको राष्ट्रिय परिचयपत्रसहित यी मोबाइल इकाईहरूमा गएर आफूलाई खोप लगाउन पाउने बताइएको छ ।
स्वास्थ्य अधिकारीहरूले निजी अस्पतालका मालिकहरूलाई आईसीयू, एचडीयू र बेडको सङ्ख्या बढाउन र अक्सिजनको नियमित आपूर्ति सुनिश्चित गर्न तथा अक्सिजन प्लान्ट स्थापना गर्न आग्रह गरेका हुन् ।
उनीहरूले निजी अस्पतालका मालिकहरूलाई नियमित रूपमा बिरामी, बेड र भ्यान्टिलेटरहरूको सङ्ख्याबारे सरकारलाई अपडेट गराउन पनि निर्देशन दिएका छन् ।
यसैबिच विश्व स्वास्थ्य सङ्गठनले सोमबार स्वास्थ्य विभागको प्रयोगका लागि एम्बुलेन्स र मोटरसाइकल प्रान्तीय सरकारलाई हस्तान्तरण गरेको छ । पाकिस्तानमा कोरोनाविरुद्धको चिनियाँ खोप लगाइँदै आएको छ । यो खोप लगाएपछि प्रधानमन्त्री इमरान खानलाई कोरोना सङ्क्रमण पुष्टि भएको थियो।