दार्चुला । पछिल्लो समय सहर, बजार भन्दा पनि ग्रामिण भेगमा कोरोना संक्रमित देखिन थालेपछि यहाँका स्थानीय तहहरुले समूदायमा स्वास्थ्यकर्मी परिचालन गरेका छन् । जिल्लाका ९ वटै स्थानीय तहहरुले स्थानीयका घरघरमा गएर संक्रमितको खोजी गर्न थालेका छन् ।
यहाँका महाकाली नगरपालिका, दुुहुँ गाउँपालिका, नौगाड गाउँपालिका, लेकम गाउँपालिका, मार्मा गाउँपालिका र अपिहिमाल गाउँपालिकाले पछिल्लो समय आफ्ना वडामा रहेका नागरिकहरुको घरैमा गएर कोरोना जाँच गर्न थालेका हुन् ।
गाउँगाउँमा ज्वरो र रुघाखोकीका बिरामी बढेपछि स्थानीय तहहरुले स्वास्थ्यकर्मी खटाएका हुन् । मालिकार्जुन गाउँपालिका, ब्याँस गाउँपालिका र शैल्यशिखर नगरपालिकामा भने बिरामीको मागको आधारमा स्वास्थ्यकर्मी घरदैलोमै पुग्ने गरेको जनाएका छन् ।
स्थानीय तहमा रहेका स्वास्थ्यकर्मीहरुले घरघरमा गएर बिरामीको एन्टिजेन र पीसीआर परीक्षण गरिरहेको सम्बन्धित स्थानीय तहले जनाएका छन् । केही स्थानीय तहमा जनप्रतिनिधिसहित स्वास्थ्यकर्मीको टोली खटिइ कोरोना परीक्षणका साथै स्वास्थ्योपचार गरिरहेका छन् ।
पछिल्लो समय ग्रामिण क्षेत्रमासमेत कोरोना संक्रमण फैलिएपछि गाउँमै आफ्ना स्वाथ्यकर्मी परिचालन गरी स्वास्थ्य परीक्षण तथा कोरोना जाँच र औषधी वितरण गरिरहेको महाकाली नगरपालिकाका प्रमुख हंसराज भट्टले बताए ।
दार्चुलामा अहिले दुवै (पीसीआर र एन्टिजेन) विधिबाट कोरोना परीक्षण भइरहेको छ । जिल्लामा पीसीआर प्रयोगशाला नहुँदा स्वाव संकलन गरी बैतडी पठाउने गरिएको छ भने एन्टिजेन परीक्षण मात्रै यहाँ भइरहेको हो । तर पीसीआर रिपोर्टको नतिजा आउन हप्ता दिन बढी समय लाग्दा संक्रमण झन् फैलिने चिन्ता बढेको छ ।
कोरोना विरुद्ध लड्न मार्मा गाउँपालिकामा केस इन्भेष्टिकेशन एण्ड कन्ट्याक्ट आइडेन्टिफिकेशन (सीआइसीआई) समूह निर्माण गरेर वडास्तरीय केश अनुसन्धान तथा पहिचान गर्ने काम भइरहेको जनाइएको छ ।
दुहुँ गाउँपालिकाले समेत कोभिडविरुद्ध बस्तीस्तरीय अभियान चलाएर जनप्रतिनिधिसहितको स्वास्थ्यकर्मीको टोली बस्ती स्तरमा खटिएको गाउँपालिका अध्यक्ष पुलेन्द्र बहादुर कार्कीले बताए ।
गाउँगाउँमा कोरोनासँग मिल्दाजुल्दा लक्षण भएका बिरामी हुँदा स्थानीयहरुमा कोरोना नै हो कि भन्ने त्रास फैलिएको छ । बिरामी भएर पनि कोरोना पोजेटिभ रिपोर्ट आउँछ भन्ने डरलेसमेत उनीहरु स्वास्थ्य संस्थासम्म उपचार गर्न जाँदैनन् ।
गाउँमा परिचालन भएका स्वास्थ्यकर्मीले तत्काल बिरामी भइहाले आवश्यक पर्ने औषधि, स्वास्थ्य सामग्री, मास्कसमेत घरघरमा पुगेर वितरण गर्न थालेको नौगाड गाउँपालिकाका जनस्वास्थ्य अधिकृत सुजन नेपालीले बताए ।
स्वास्थ्य कार्यालय दार्चुलाले समेत होम आइसोलेशनमा रहेका संक्रमितका लागि फोन स्वास्थ्य सेवा संचालनमा ल्याएको छ । दार्चुलामा अहिलेसम्म ६ सय ४० जनामा संक्रमण देखिएको छ त्यसमा ४ सय ९६ जना निको भइसकेका छन् ।
जिल्लामा कोरोना कै कारण १० जनाले ज्यान गुमाइसकेका छन् ।