arrow

कोरोना र आर्थिक पाटो

ट्याक्सी चालकको कोरोना संघर्ष र अस्पतालको बिल 

कांग्रेस नेता रेशम गुरुङको पहलमा जुट्यो होमलाई सहयोग रकम 

logo
हरि पन्त, 
प्रकाशित २०७८ जेठ १४ शुक्रबार
corona-hom-bd-nepali.jpg

पोखरा । तनहूँको बन्दीपुर धारापानीका ४० वर्षका होमबहादुर नेपाली गरिब परिवारका युवा हुन् । उनी ट्याक्सी चलाएर आफ्नो जीविकोपार्जन गर्दै आएका थिए । उनलाई वैशाख २५ गते कोरोना संक्रमण भयो । कोरोना संक्रमणकै कारण उनको स्वास्थ्य विस्तारै जटिल बन्दै गइरहेको थियो । 

उनले कोरोना संक्रमितको उपचारमा ठूलै रकम खर्च हुने सुनेका थिए । आर्थिक अवस्था कमजोर भएकै कारण अस्पताल जान सकेका थिएनन् । उनले कोरोना जित्नेमा आश पनि मारिसकेका थिए । घर परिवार पनि निकै अत्तालिएका थिए ।

उनलाई चितवनस्थित चितवन मेडिकल कलेज पुर्याइयो । उनी करिब २० दिन अस्पताल बसे र ठीक पनि हुँदै गए । जब उनी डिस्चार्ज हुँदै थिए उनको मनमा छट्पटी भइरहेको थियो ।
 
अस्पतालले डिस्चार्जको तयारी गर्दैगर्दा उनलाई करिब छ लाख रुपैयाँको बिल थमायो । अन्य खर्च सबैको सहयोगमा गरिरहेका होमले अस्पतालको बिल दुई लाख ५० हजार रुपैयाँ तिर्न बाँकी थियो । त्यसपछि उनी छाँगाबाट खसेजस्तै भए । 

उनलाई आफ्नो स्वास्थ्यको भन्दा पनि अस्पतालको बिल कसरी तिर्ने भन्ने चिन्ताले साह्रै सतायो । त्यसपछि उनले उनकै गाउँका समाजसेवी, मनकारी व्यक्तित्व रेशम गुरुङलाई फोन गरे । रेशम नेपाली कांग्रेस तनहूँका कोषाध्यक्षसमेत हुन् ।

फोनमा होमको बोली सुन्दा निकै खुशी भएका नेता रेशम अस्पतालको बिलको रकम सुन्दा तर्सिए । त्यसपछि रेशमलाई पनि छट्पटी भयो । होम अस्पताल जाँदै गर्दा रेशमले ‘राम्रो उपचार गर्नु, पिर नलिनु, केही परेमा सम्झनू’ भनेका थिए । 

होमलाई वचन पनि दिएका मनकारी व्यक्तित्व रेशमले सहयोगका लागि पहल गर्छु, नआत्तिनु भन्दै अर्को वचन दिए । त्यसपछि रेशमले चिनजान भएका सबैलाई फोन गरे, सामाजिक सञ्जालमा सहयोगको अपिल गरे । सक्नेले सहयोग पनि गरे । 

रेशमको पहलमा बल्लबल्ल एक लाख ६० हजार रुपैयाँ जुट्यो । कुनै समयमा ठूलाठूला काम फत्ते गरेका रेशमलाई अहिलेको समय परिस्थितिले यति रकम जुटाउन पनि धेरैै पापड पेल्नुपर्यो । 

रकम त अझै पुगेन । त्यसपछि उनले चितवनका आफ्ना प्रिय साथी जितनारायण श्रेष्ठलाई सम्झिए । श्रेष्ठ नेपाली कांग्रेस चितवनका सभापति हुन् । रेशमले जितनारायणलाई सबै कुरा बेलिविस्तार लगाए । त्यसपछि जितनारायणले पनि सकेको सहयोग गर्ने वचन दिए । 

सभापति जितनारायणले अस्पतालसंग समन्वय गरेर ९० हजार रुपैयाँ छुट गराइदिए । त्यसपछि होमले बाँकी पैसा तिरेर घर फर्कन सफल भए । उनी बिहीबार ( जेठ १३ गते) राति १० बजे आफ्नो घर आइपुगे छन् ।
 
घर आउँदै गर्दा उनले बाटैबाट आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका छन् । होमले बन्दीपुर गाउँपालिकाबाट २० हजार लगायत धेरै इष्टमित्र, साथीभाइले सहयोग गरेको र आफूले पुनर्जीवन पाएको बताए । 

उनले विशेष धन्यवाद रेशम गुरुङलाई दिएका छन् । उनकै मद्धतले आफूले अर्को जीवन पाएको भन्दै खुशी व्यक्त गरे । 

होमले आफ्नो उपचारमा करिब सात लाख रुपैयाँ खर्च भएको हुन सक्ने बताए । उनले भने,  ‘घर जाँदैछु । सबै बिल हेरिसकेको छैन । करिब सात लाख रुपैयाँ खर्च भएको अनुमान गरेको छु ।’

यता कांग्रेस नेता एवं तनहूँ कोषाध्यक्ष रेशमले सहयोग भन्दा पनि होमले जीवनदान पाएकोमा आफूलाई निकै खुशी लागेको बताए । उनले चितवन सभापति जितनारायणप्रति विशेष आभार प्रकट गरेका छन् । 

उनले भने,  ‘रकम जे जति भए पनि वास्तविक मानवीय सहयोग यही हो । यसले साह्रै आनन्द लागेको छ ।’ नेता रेशमले सहयोगदाता र चितवन मेडिकल कलेजका सञ्चालकहरुलाई पनि धन्यवाद दिएका छन् ।



लोकप्रिय समाचार
नयाँ