काठमाडौँ । पछिल्ला केही दिनयता कोरोना संक्रमण दरमा कमी आए पनि मृत्युदर भने अझै घट्न सकेको छैन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अझै पनि कोरोनाबाट दैनिक मृत्यु हुनेको सङ्ख्या एक सय भन्दा बढी नै छ ।
पछिल्ला साता लगातार संक्रमणमा कमी आएको भए पनि कोरोनाबाट हुने मृत्यु उल्लेख्य घट्न सकेको छैन । मन्त्रालयका अनुसार पछिल्ला २४ घण्टामा कोरोनाबाट ११४ जनाले ज्यान गुमाएका छन् । नेपालमा हालसम्म कोरोना संक्रमणबाट सात हजार ३८६ को ज्यान गएको छ ।
संक्रमण दरमा केही कमी देखिएको भए पनि अधिकांश संक्रमित होम आइसोलेसनमा रहेका र स्वास्थ्य अवस्था जटिल भएपछि मात्र अस्पताल आउने हुँदा मृत्युदर घट्न नसकेको चिकित्सकहरू बताउँछन् ।
सोमवार १५ हजार ५५ पिसिआर र दुई हजार ४२५ एन्टीजेन गरी कुल १७ हजार ४८० नमुना परीक्षण गर्दा चार हजार ७६२ जनामा संक्रमण पुष्टि भएको छ । नेपालमा हालसम्म पाँच लाख ६१ हजार ३०२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
संक्रमितमध्ये चार लाख ४७ हजार ४४६ जना संक्रमणमुक्त भएका छन् । कोरोनामुक्त हुनेको दर ७९.७ प्रतिशत रहेको छ । एक लाख ६ हजार ४७० संक्रमित आइसोलेसनमा छन् । सोमवार छ हजार ४९१ जना संक्रमणमुक्त भएका छन् ।