काठमाडौं । पाकिस्तानले चीनको सहयोगमा स्थानीय रूपमै कोरोना भाइरसविरुद्धको खोप उत्पादन गरेको छ ।यो खोप एउटै डोजमा आधारित रहेको पाकिस्तानी सञ्चारमाध्यम डनले जनाएको छ । मङ्गलवार करिब १ लाख २० हजार डोज खोप उत्पादनसँगै यो खोप सार्वजनिक गरिएको थियो ।
चीनले उपलब्ध गराएको कच्चा पदार्थका आधारमा पाकिस्तानले खोप उत्पादन गरेको हो । चीनले उत्पादन गरेको एक डोजको खोप 'कान्सिनो'लाई नै पाकिस्तानले स्थानीय रूपमा उत्पादन गरेको हो । कान्सिनाेलाई पाकिस्तानले पाकभ्याक नाम दिएको हाे ।
प्रति महिना झण्डै ३० लाख डोज खोप उत्पादन गर्न सक्ने क्षमता अनुसार पाकिस्तानले खोप उत्पादन थालेको छ भने, यी सबै खोप आफ्ना नागरिकहरूलाई लगाउने छ ।
यद्यपि, यो खोपको प्रभावकारिता एवं परीक्षणबारेका कुनै पनि जानकारीहरू भने बाहिरिएका छैनन् ।
पाकिस्तानले हालसम्म ७० लाख भन्दा बढी खोप लगाइसकेको छ भने, यहाँ सङ्क्रमण दर समेत पछिल्लो समय घटेर ४ प्रतिशत पुगेको छ ।
पाकिस्तानमा ९लाख भन्दा बढी मानिस सङ्क्रमित भएका छन् भने, करिब २१ हजारले ज्यान गुमाएका छन् ।