arrow

राउटेमा कोरोना पुष्टि भएन

logo
नवीन रिजाल,
प्रकाशित २०७८ जेठ २१ शुक्रबार
raute.jpg

दैलेख । जङ्गलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायमा कोभिड-१९ सङ्क्रमण भेटिएन  ।  सुर्खेतको गुर्भाकोट नगरपालिका-११आपसोती जनैघाट जङगलको भेरी नदी किनारमा बसोबास गर्दैै आएका ती समुदायको एन्टिजेनबाट स्वाव सङ्कलन गरिएको थियो । सङ्कलित स्वावको  रिपोर्ट नेगेटिभ आएसँगै सो समुदायमा कोरोना पुष्टि नभएको हो ।   

परीक्षण गराएका सबैको रिपोर्ट नेगेटिभ आएको गुराँस गाउँपालिका स्वास्थ्य शाखा सहसंयोजक निराजन विष्टले जानकारी दिए । उनले भने,“गाउँपालिकाबाट स्वास्थ्यकर्मीको टोली राउटेका बस्तिमै पुगेर  स्वाव सङ्कलन गरिएको थियो । परीक्षण गराएकामा कसैको पनि   कोरोना पुष्टि भएन ।”

उनले कति जनाको स्वाव सङ्कलन गरिएको थियोे भन्ने जानकारी दिएनन् । राउटे महिलाले करोना परीक्षण ‘आफ्नो  धर्म विरुद्ध हुने ’जनाउँदै स्वाव सङ्कलन गर्न अस्वीकार गरेका बताइएको छ । स्वाव सङ्कलन  गर्नु अगाडि राउटेका मुखिया सूर्यनारायण शाहीले आफ्नो जनतामा कोरोना नलागेकोे जनाउँदै परीक्षण नगर्न आग्रह गर्दै आएका थिए  ।

“मेरो जनतासँग कोरोना छैन । सरसफाइ गरेकै छौं । किन स्वाव लिनु पर्‍यो ? जनता डराउँछ । कहिल्यै पनि तपार्इँको जस्तो उपचार गरेको छैन । बरु हाम्रो समुदायमा गैर राउटेलाई आउन नदिन प्रहरी पठाइ दिनुहोला । ”उनले भने ।

केहीदिन अगाडि राउटे  युवक शिवराज शाहीको मृत्यु भएको थियो । आफ्नो समुदायमा सक्रिय शाहीको मृत्युपछि कोरोना  आशंकामा स्वाव सङ्कलन  गरिएको सहयोगी संस्था सोसेकले जनाएको छ । अहिले पनि ती समुदायलाई खाद्यान्नको जोहो गर्न  विभिन्न  गाउँ  बजार डुलिरहनु पर्ने बाध्यता छ । 

कोरोनाको आशंकामा राउटे समुदायको परीक्षण गरिएको  सोसेकका संस्थापक अध्यक्ष हिरासिंह थापाले जानकारी दिए । गुराँस गाउँपालिकाले राउटे नागरिकलाई स्थायी बासिन्दाको प्रमाणपत्र दिइसकेको छ । प्रदेश सामाजिक विकास मन्त्रालय, गुर्भाकोट नगरपालिका, सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल  र गुराँस गाउँपालिकाको संयुक्त प्रयासमा कर्णाली प्रदेशको गहना भनेर चिनिने राउटे समुदायमा कोरोना  परीक्षण गराएको थियो ।



लोकप्रिय समाचार
नयाँ