arrow

डडेल्धुरामा निषेधाज्ञा उलङ्घन गर्ने होडबाजी, प्रजिअबाटै निषेधाज्ञा उल्लङ्घन

logo
राम धामी 
प्रकाशित २०७८ जेठ २२ शनिबार
dadeldhura-cdo.jpg

डडेल्धुरा । डडेल्धुरा जिल्लामा कोरोना महामारी नियन्त्रणका लागि निषेधाज्ञा जारी गर्ने प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे आफै भिडभाडका कार्यक्रमहरुमा सहभागी भएर निषेधाज्ञा उल्लङ्घन गर्न थालेका छन ।

कोरोना भाईरस महामारी संक्रमण न्युनीकरणका लागि जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जेष्ठ मसान्तसम्म निषेधाज्ञा जारी गरेको छ । गत बैशाख १६ गतेदेखि डडेल्धुरामा निरन्तर निषेधाज्ञा जारी छ ।

तर, पछिल्लो समयमा जिल्लाका बिभिन्न स्थानिय तहदेखि जिल्लास्थित कोरोना महामारी संकट ब्यवस्थापन केन्द्रका पदाधिकारीहरु र स्वयम् निषेज्ञाधा जारी गर्ने जिल्ला प्रशासन कार्यालय डडेल्धुराबाटै निषेधाज्ञा उल्लंघन हुन थालेको छ ।

जिल्लास्थित प्रमुख सरोकारवाला निकायबाटै निषेधाज्ञा उल्लंघन गर्नमा होडबाजी भइरहेकोले सर्वसधारणमा पनि अटेरी गर्ने प्रवृती मौलाउन थालेको स्थानीय बताउँछन ।

निषेधाज्ञाकै क्रममा परशुराम नगरपालिकाका नगर प्रमुख भीमवहादुर साउद लावालस्करसहित सडक, खानेपानी, भवन निर्माण जस्ता योजनाको उद्घाटनमा झण्डै एकसाता ब्यस्त रहेको परशुराम नगरपालिकाले जनाएको छ ।

योजना अनुगमन र उद्घाटनका क्रममा लावालस्करसहित नगरप्रमुख आफैंले निषेधाज्ञा उल्लङ्घन गरेकाले सर्वसधारणबाट पनि निषेधाज्ञा पालना गर्न अटेरी हुन थालेको परशुराम नगरपालिका–५ का परिगाँउका बिरबहादुर चन्दले गुनासो गरे । उनले समाजका अगुवाहरुले निषेधाज्ञा उल्लङ्घन गर्दा निषेधाज्ञा प्रभावकारी हुन नसकेको जिकिर गरे ।

शनिवार अजयमेरु गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद भट्ट ‘विकास’ले सो गाँउपालिकाको वडा नम्वर २ को कार्यालय भवनको वृहत समारोहकाबीच उद्दघाटन गरेका छन । सो समारोहमा व्यापक जनसहभागिता रहको स्थानीय बताउँछन् ।

स्थानीय स्तरमा मात्रै नभई शनिवार परेको विश्व वातावरण दिवसका अवसरमा डिभिजन वन कार्यालय डडेल्धुराले आयोजना गरेको वृक्षारोपण कार्यक्रममा डडेल्धुराका प्रमुख जिल्ला अधिकारी घिमिरे दलबलसहित सहभागी भएर निषेधाज्ञा उल्लङ्घन गरिएको छ ।

सो कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख गणेशराज भट्टसहित जिल्लास्थित अधिकांस कार्यालयका प्रमुख तथा प्रतिनिधीहरुको सहभागिता थियो ।

बृक्षारोपण कार्यक्रममा जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी अधिकृतहरुदेखि ठुलो संख्यामा प्रहरी जवानहरुको सहभागिता थियो । जिल्ला प्रशासन कार्यालय डडेल्धुराले गरेको निषेधाज्ञाको उल्लंघन गर्दै सदरमुकाम नजिकै रहेको उग्रतारा मन्दिर परिसरमा व्यापक सहभागिताका साथ गरिएको वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो ।

आफैंले जारी गरेको निषेधाज्ञा उल्लङ्घनगर्दै कार्यक्रममा सहभागी प्रमुख जिल्ला अधिकारी घिमिरेले अन्य योजनाको अनुगमन गर्न गएको टिम पनि वृक्षारोपण कार्यक्रममा सहभागी भएकोले सहभागी संंख्या तोकिएको भन्दा बढि भएको स्वीकार गरे ।

उनले सरकारी कार्यालयका प्रमुखहरुसँगै सामाजिक संघ संस्थाका प्रतिनिधी, पत्रकार र संरक्षणकर्मीहरु सहभागी भएकाले ब्यक्तिको संख्या बढि भए पनि खुला क्षेत्र भएकाले भोतिक दुरी कायमगर्दै वृक्षारोपण गरिएको दाबी गरे ।

डिभिजन वन कार्यालय डडेल्धुराका डिभिजनल प्रमुख विष्णुप्रसाद आचार्यले स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पालना गरेर वृक्षारोपण गरिएको बताए । निषेधाज्ञाका कारण आम सर्वसाधारण घर भित्रै बस्न वाध्य भइरहेको समयमा सरोकारवाला निकायका प्रमुखहरु लावालस्करकासाथ औपचारिक कार्यक्रममा सहभागी हुन थालेपछि सर्वसाधारणले विरोध जनाएका छन् ।

ग्रामिण क्षेत्रमा भिडभाडवाला औपचारिक कार्यक्रमहरुका कारण कोरोना महामारीको संक्रमण फैलिरहेका समयमा अझै पनि भौतिक उपस्थितिकासाथ बिभिन्न समारोहको आयोजना हुन नछाडेको नेपाल नागरिक समाज डडेल्धुराका उपाध्यक्ष तेजराज भट्टले बताए ।

उनले जिम्मेवार ब्यक्तिबाटै निषेधाज्ञा उल्लङ्घन हुनु गम्भीर लापरवाही भएको जिकिर गरे । निषेधाज्ञाका क्रममा भीडभाड र औपचारिक कार्यक्रमहरु सम्पन्न हुन थालेपछि कोरोना संक्रमण वढ्न सक्ने भन्दै स्वास्थ्यकर्मीले चिन्ता व्यक्त गरेका छन् ।
 



लोकप्रिय समाचार
नयाँ