arrow

९० वर्षीया बज्यैले कोरोना जितेर फर्किइन् घर

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २३ आइतबार
corona-negative.jpg
negative

बागलुङ । कोरोना निको भएपछि बागलुङ नगरपालिका–१३ पैँयूपाटा, सिम्लेकी ९० वर्षीया तुलसी पौडेल अस्पतालबाट आइतवार घर फर्किएकी छन् । उनलाई धवलागिरि अस्पतालको हाइ डिपेन्डेन्सी युनिट  शय्यामा राखेर उपचार गरिएको थियो ।

कोरोनाको लक्षण देखिएपछि गरिएको एन्टिजिन परीक्षणमा यही जेठ ९ गते उनलाई संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य स्थिति खराब बन्दै गएपछि उन जेठ १३ गते अस्पताल भर्ना भएकी थिइन् ।

एघार दिनसम्मको चिकित्सकीय निगरानी र उपचारपछि पौडेललाई स्वास्थ्यलाभ मिलेको हो । स्वास्थ्यमा सुधार आएपछि ‘डिस्चार्ज’ गरिएको अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखेरलले बताए ।

अस्पताल पुग्दा उनको शरीरमा अक्सिजनको मात्रा घटेर ७६ मा पुगेको थियो, पखाला, ज्वरोसहितका कडा लक्षण थिए , श्वासप्रश्वासमा समस्या थियो । “उनलाई एचडियूमा अक्सिजन दिएर उपचार गर्‍र्यौँ, त्यो उमेरमा पनि चाँडै सुधार भयो, यसलाई राम्रो मान्नुपर्छ”, प्रमुख चिकित्सक पोखरेलले भने ।

पौडेलले यसअघि उच्च रक्तचाप र नशासम्बन्धी रोगको औषधि सेवन गर्दै आए पनि कुनै गम्भीर खालको स्वास्थ्य समस्या भने थिएन । सोही वडाको ठूलाखेतमा छोरा चन्द्रप्रसादसँग बस्दै आएका पौडेल परिवारका अन्य सदस्य बिरामी पर्न थालेपछि संक्रमणको जोखिमबाट बच्न जेठ ४ गते सिम्लेमा बस्ने अर्का छोरा भवानीकहाँ बस्न थालेकी थिइन् । 

 उनलाई त्यहाँ पनि कोरोनाले छाडेन । संक्रमणपछि केही दिन घरमै एकान्तबासमा बसेकी  पौडेललाई जेठ १२ गते राति एक्कासि श्वासप्रश्वासमा समस्या भएपछि एम्बुलेन्समार्फत तुरुन्त धवलागिरि अस्पताल ल्याइएको थियो । 

बेलैमा स्तरीय उपचार पाएका कारण आमालाई बचाउन सकिएको छोरा चन्द्रप्रसादले बताए । “अस्पतालमा राम्रो उपचार, हेरचाह भयो, चिकित्सकले पनि पूरा समय दिएर हेर्नुभयो”, उनले भने, “कुनै पनि दिन आमाले खाना कम गर्नुभएन, दूध नियमित सेवन गर्नुभयो, यसले पनि छिटो निको हुन सघायो कि ?”

उपचार, स्वस्थकर आहार र बुढ्यौली उमेरमा पनि आत्मबल हुँदा कोरोनालाई परास्त गर्न हजुरआमा सफल भएको नाति ज्ञानेन्द्र गौतमले बताए ।  अर्का नाति सुशील पौडेल नगरपालिकाको स्वास्थ्य शाखामा रहेकाले पनि आवश्यक स्वास्थ्य परामर्श, रेखदेख र समन्वयमा सहजता मिलेको छोरा चन्द्रप्रसादको भनाइ थियो । धेरै उमेरकी पौडेललाई कोरोना लाग्दा परिवारजन चिन्तित थिए । निको भएर घर फर्कँदा भने सबै खुशी छन् । छिमेकका संक्रमितमा मनोबल र विश्वास बढेको छ ।

कोरोनाको दोस्रो लहरबीच जिल्लामा सक्रिय संक्रमितको संख्या ९८५ छ । कोरोनाका कारण हालसम्म ४५ जनाले ज्यान गुमाएका छन् । पछिल्ला दिनमा गम्भीर प्रकृतिका संक्रमितको चाप कम हुँदै गएको अस्पतालले जनाएको छ ।



लोकप्रिय समाचार
नयाँ