arrow

पाकिस्तानमा दुई वटा रेल जुधे, कम्तीमा ३० जनाको मृत्यु

logo
एपी,
प्रकाशित २०७८ जेठ २४ सोमबार
pakistan-train.jpg
तस्बिर :एपी

मुल्तान। पाकिस्तानको दक्षिणी क्षेत्रमा सोमबार बिहानै दुई वटा एक्सप्रेस रेल जुधेर भएको दुर्घटनामा कम्तीमा ३० जना यात्रुको मृत्यु भएको छ। स्थानीय अधिकारीहरूका अनुसार उद्धारकर्मी एवं स्थानीय गाउँवासीले रेलका डब्बामा च्यापिएका घाइते एवं मृतकका शव बाहिर निकालेका छन्।

मिल्लात एक्सप्रेस रेलका डब्बाभित्र अझै पनि १५ देखि २० जना यात्रु फसेका बताइएको छ। सिन्ध प्रान्तको घोट्की जिल्लाका प्रहरी प्रमुख उमर टुफैलले डब्बाभित्र थुनिएका व्यक्तिहरू उद्धारका लागि चिच्याएको सुनिएको बताउँदै ठुला मेसिनको सहायताले भग्नावशेष पन्छाउने प्रयास भइरहेको जानकारी दिए।

मिल्लात एक्सप्रेस रेल आफ्नो लिकबाट बाहिरिएसँगै सर सइद एक्सप्रेस रेलले ठक्कर दिएको थियो, घोटकीका उपआयुक्त उस्मान अब्दुल्लाहले बताए। उनले मिल्लात रेल कसरी लिकबाहिर उछिट्टियो भन्ने बारेमा अनुसन्धान सुरु भएको जानकारी दिए।

अब्दुल्लाहले पछिल्लो विवरण अनुसार कम्तीमा ३० जनाको मृत्यु भएको बताए। रेलवे अधिकारीहरूका अनुसार दुवै रेलमा गरी करिब एघार सय यात्रु सवार थिए। घाइते कतिपय यात्रुको स्वास्थ्य अवस्था निकै नाजुक रहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने अधिकारीहरूको भनाई छ।
 



लोकप्रिय समाचार
नयाँ