काठमाडौं। सिल्धुपाल्चोकको बाह्रबिसे नगरका मेयर निमफुञ्जो शेर्पाले बाह्रबिसे नगरपालिकाको आधिकारिक पेजबाट एक संञ्चारकर्मीसहित पार्टीका अगुवालाई अनेक गालीगलौज गरेका छन् ।
आइतबार बाह्रबिसे नगर बाह्रबिसे बजारस्थित बाह्रबिसे प्राथामिक स्वास्थ्य केन्द्रमा सरोकार टेलिभिजनकर्मी रामचन्द्र बस्नेतले बेपत्ता भएका पुजन राईको रिपोर्टिङको क्रममा ड्रोनबाट भिडियो खिचेका थिए ।
त्यसलगत्तै सुरक्षाकर्मीसहित बाह्रबिसे प्रास्वाके पुगेका मेयर शेर्पाले संञ्चारकर्मी बस्नेत र नेपाली कांग्रेसका क्षेत्रीय सभापति बालकृष्ण बस्नेतलाई ‘अपराधी र पागल’ भनेर गाली गरे ।
‘त्यो रामचन्द्र भन्ने त पागल नै रैछ, त्यो बालकृष्ण बस्नेत पनि सँगै आएको रैछ । यीनिहरु यस्तै अपराधिक क्रियाकलापमा संम्लग्न छन्, हामीसँग प्रमाण छन्, ’शेर्पाले नगरको आधिकारिक पेजबाट गरिएको लाइभ भिडियोमा भनेका छन् । उनले बस्नेतले ड्रोन उडाएर स्वास्थ्यकर्मीलाई आतंकित बनाएको आरोप लगाउँदै ती ‘अपराधी’ रहेको दाबी गरे ।
उनले भिडियोमा पीसीआर मेसिन ल्याउने नाममा अस्पतालमा आएर थर्काएको भन्दै उनीहरु विरुद्ध मुद्दा दायर गर्न दबाब दिएको प्रष्ट देखिन्छ । पत्रकारले कोभिडका बीचमा लाख रुपैंयाँ पैसा मागेको र आफुले कागज च्यातेर मिल्काएको साथै कुनै केटीसँग फोटो खिच्दा बदनाम गरेको भन्दै उनले भिडियोबाट गुनासो गरेका थिए ।
भिडियो सामाजिक संञ्जालभर फैलिरहँदा अधिकाशंले ड्रोन उडाउनु गलत भएपनि यसरी गालीगलौज हुनु दुःखद रहेको भन्दै स्टाटस राखेका छन् ।
मेघा टेलिभिजनका कार्यक्रम व्यवस्थापक आशिष तिवारी र समाजसेवी उमेशजंग कार्कीले भने, ‘पुजन राई बेपत्ता भएको महिनौ बित्यो, न नगरको टाउको दुख्यो, न पुलिस प्रशासनको टाउको दुख्यो । तर एउटा ड्रोन उडाउँदा मात्रै पनि बाह्रबिसे नगरका मेयर र प्रहरीको टाउको दुखेको छ ।’ तैपनि मेयरले फेसबुक लाइभबाट तथानाम गाली गर्न मिल्छ ? भनेर प्रश्न गरेका छन् ।
इलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक देवेन्द्र शाहले स्वास्थ्यकर्मीले ड्रोन उडाएर आतंकित बनाएको भन्दै संञ्चारकर्मी बस्नेत र सभापति बालकृष्ण बस्नेतमाथि जाहेरी किटानी दिएको बताए । बाह्रबिसे नगरपालिकाले ड्रोन उडाएर आतंकित बनाउन खोजेको भन्दै प्रेस विज्ञप्ती नै जारी गरेको छ ।
संक्रमित उद्धार गर्दा अपराधी भएँः बालकृष्ण बस्नेत
म कोभिड सुरु भएयता संक्रमितलाई उद्धार गरेर अस्पतालसम्म आफ्नै निजी सवारीमा ल्याउने काम गरिरहेको छु ।
आइतबार पनि बाह्रबिसे नगरका एक संक्रमित बिरामी बोकेर अस्पताल पुगे । त्यतिबेला गाउँमा खाद्यान्न वितरण गर्दा सँगै गएका सरोकार टिभिकर्मी रामचन्द्र बस्नेत पनि थिए ।
बिरामी सिरियस भएकाले स्वास्थ्य परीक्षण गर्न र आइसोलेसनमा राख्न हामीले आग्रह ग¥यौ ,तर स्वास्थ्यकर्मीले सामान्य चेकजाच गरेपछि खासै वास्तै गर्नुभएन् ।
पहिल्यै कोरोना पोजिटिभ देखिएको भन्दै सबै स्वास्थ्यकर्मी नभएको भन्दै पन्छिदै केही चुपचाप भित्र पसे । बाहिरका केही स्थानीयबाट उहाँहरु बिदामा भएको खबर पाएँ ।
तर त्यतिबेला बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रको छतमा हल्ला धेरै थियो । हामी फर्किनै लागेका थियौ कि संञ्चारकर्मी बस्नेतले बेपत्ता पुजन राई अस्पतालबाट हराएको हुनाले भिजुअल लिनुपर्ने भन्दै ड्रोन उडाए । यसअघि पनि धेरै पटक ड्रोन उडाउँदा केही आपत्ति नआएको हुनाले मैंले खासै चासो दिइन् ।
तर ड्रोनबाट लिइएको भिडियोमा स्वास्थ्यकर्मी छतमा टिकटक बनाएर बसिरहनुभएको देखियो । ड्रोन आएको देखेपछि छतमा भएका सबै स्वास्थ्यकर्मी तल आइपुग्नु भयो र भिडियो डिलेट गर्न दबाब दिनुभयो । संञ्चारकर्मी बस्नेतको ड्रोन यसअघि नै बिग्रिएकोले भिडियो सेभ भएको थिएन । त्यही कुरा भन्यौ । उहाहरुले मान्नुभएन् ।
घर आएलगत्तै प्रास्वाकेमा पुगेर बाह्रबिसे नगरका मेयर शेर्पाले तथानाम भन्नुभएको लाइभ भिडियो देखें । उहाँले मलाई हराएर मेयर भएको हो तर मेयर पदमा बसेको उहाँले आधिकारिक पेजबाट गालीगलौज गर्न मिल्छ ? यदि अपराध भएको भए सम्पूर्ण कुरा बुझेर कानुनी दायरामा ल्याउनुपर्ने हो ।