हेटौँडा । हेटौँडा उपमहानगरपालिकामा बुधवारबाट सुरु हुने भनिएको कोरोनाभाइरस (कोभिड–१९) विरुद्ध चिनिया (भेरोसेल) खोप कार्यक्रम मेयरको आदेशमा केही समय रोकिए पनि सुरु भएको छ । बिहान ७ बजेदेखि सुरु हुनुपर्ने खोप कार्यक्रम सबै वडा-वडामा खोप पुराउन लाग्दा अन्तिम समयमा खोप स्थगित गर्न मेयर हरिबोल महतले आदेश दिएका थिए ।
नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँ उपत्यका भित्र ६० देखी ६४ वर्ष र उपत्यका बाहिरका ६२ देखी ६४ वर्ष उमेर समूहका लागी खोप लगाउने भनी सबै स्थानीय तहमा खोप पठाएको छ । यहाँ बुधवार र भोलि उक्त खोप कार्यक्रम सञ्चालन गरिने भनिएको थियो ।
तर मेयर महतले बिहान अचानक खोप स्थगित गरौँ भनेपछि सबै चकित र आक्रोशित बनेका थिए । अन्तिम समयमा आएर खोप स्थगित भएको केही वडाध्यक्ष, उपमहानगरपालिकाकी उपमेयर मिना लामालगायतले खोप सुचारु गरौँ भनेपछि केहीबेर अघिदेखि केही वडामा खोप सुरु भएको छ ।
हेटौँडाका केही वडामा खोप सुरु भएको उपमहानगरपालिकाका फोकल पर्सन भोला चौलागाईंले जानकारी दिए । उनका अनुसार वडा नम्बर १९,१६,१७ लगायतका वडामा भने बुधवार खोप कार्यक्रम सञ्चालन नहुन सक्ने देखिएको छ ।
बिहानैदेखि सुरुहुनु पर्ने खोप कार्यक्रम हेटौँडाका मेयरका कारण बिथोलिएको छ । उता खोप कार्यक्रम स्थगित गरौँ भनेर मेयर महत भने सम्पर्क विहीन बनेका छन्, उनलाई फोन सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेको छैन ।
नेपाल सरकारले स्वास्थ्य आपूर्ति केन्द्र मार्फत मकवानपुरका लागि पठाएको ६ हजार ५ सय भाइल खोपमध्ये स्वास्थ्य कार्यालय मकवानपुरले हेटौँडा उपमहानगरपालिकालाई २ हजार ७ सय लाइभ खोप उपलब्ध गराएको छ ।