रुपन्देही । कोरोना भाइरसको महामारीले नेपालमा धेरैको ज्यान जानुका साथै संक्रमणको दर बढेपछि अहिले त्यसबाट बच्ने एकमात्र उपाय खोपको खोजी तीव्र भइरहेको छ । दोस्रो चरणको नयाँ भेरियन्टले धेरैको ज्यान लिएपछि पहिलो चरणमा चासो नदिएकाहरु अहिले जसरी पनि खोप लगाउन पाए ज्यान जोगिन्थ्यो कि भन्ने प्रयत्नमा रहेका छन् ।
त्यसकै कारण केही स्थानीय तहहरुमा पहुँचका आधारमा अनियमिततासमेत बढ्दै गएको गुनासो आउन थालेको छ । चीनले दिएको सहयोग स्वरुप भेरोसिल खोप प्रत्येक पालिकाहरुमा ६२ वर्ष उमेरदेखि ६४ वर्ष सम्मका वृद्धवृद्धाहरुलाई लगाउने भनी वितरण गरिए पनि तिलोत्तमामा सो खोपमा अनियमितता भएको पाइएको हो ।
नगरप्रमुखका भान्जालाई दोस्रो खोप लगाइएको गुनासो आएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय काठमाडौंको जेठ १८ गतेको पत्र र जिल्ला स्वास्थ्य कार्यालय भैरहवाको जेठ २३ गतेको पत्रअनुसार ६२ देखि ६४ वर्ष पुगेका नेपाली नागरिक, स्पष्ट उमेर खुल्ने सरकारी कागजात सम्बन्धित वडा कार्यालयको सिफारिस पत्रको आधारमा मात्रै उमेर समूहका कोभिड १९ विरुद्धको भेरोसिल पहिलो मात्रा खोप दिने कार्यक्रम जनाइएको छ ।
जसमध्ये नगरप्रमुख घिमिरेका भान्जाले जेठ २४ गते लगाएको भनिएको छ । यता, नगरप्रमुखका भान्जाले आफूले नगर स्वाथ्य केन्द्र नलगाएको र काठमाडौंस्थित टेकुमा लगाएको दाबी गरेका छन् ।
उनले भने, आफुले यस्तो काम नगरेको खुलाएका छन् ।
यस्तै बुटवल उपमहानगरपालिका वडा नं ९ र ११ मा पनि आफ्नालाई मौकामा चौका भनेझैं खोप लगाइएको छ । खोप कार्ड दर्ता नं १४७ मा बुटवल उपमहानगरपालिका वडा नं ३ का ३६ वर्षे छाँया पोख्रेललाई पहिलो पटक नियम विपरीत भेरोसिल खोप लगाइएको कार्डमा उल्लेख छ । ‘स्थानीय कानून आफैँ बनाएर खाउन्’ भन्ने भनाइलाई दुई पालिकाले अवलम्वन गरेको पाइएको छ ।
बुटवल ११ का जनप्रतिनिधि नकुल शाहीले आफ्नो सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै भनेका छन्, ‘यो कार्यले लज्जित बनायो, स्वास्थ्यकर्मीहरुको नियम विपरीत कार्यले जनप्रतिनिधिमाथि प्रश्न उठाएको र बेइज्जतसमेत गराएको भन्दै यसको जवाफ नगरप्रमुख अथवा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवार हो भनी प्रश्न गरेका छन् । जुन कार्यको सर्वत्र चासो र गुनासोको विषय बनेको छ ।’