इयूका तीन सदस्य राष्ट्रले नेपाललाई दिए चिकित्सा सामग्री
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ३० आइतबार
106
Shares
काठमाडौँ । युरोपेली सङ्घ (इयू) का तीन सदस्य राष्ट्र स्लोभेनिया, अष्ट्रिया र माल्टाले कोभिडको महामारीविरुद्ध लड्न नेपाललाई सङ्घको नागरिक सुरक्षा संयन्त्रमार्फत अनुदानस्वरुप चिकित्सा सामग्री उपलब्ध प्रदान गरेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतवार बिहान आयोजित एक सङ्क्षिप्त कार्यक्रममा नेपालका लागि यहाँस्थिति युरोपेली सङ्घको प्रतिनिधिमण्डलका राजदूत नोना डेप्रेले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका विशेषज्ञ डा रोशन पोखरलेलाई ती सामग्री हस्तान्तरण गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
आइतवार हस्तान्तरित सामग्रीमा ३० हजार थान फेस मास्क, एक लाख थान निट्राइल् पञ्जा, १२ हजार ५०० थान प्रोटेक्टिभ् गगल्स, एक लाख थान प्रोटेक्टिभ मास्क, छ लाख थान नन्-स्टेराइल् मेडिकल मास्क, ५० हजार थान, भल्भ्रहित एफ्एफ्पी मास्क, एक हजार वटा पल्स अक्सिमिटर, दुई हजार ४०० वटा एन्टिजेन टेस्ट किट, १३० वटा नन्-कन्टयाक्ट् इन्फ्रारेड थर्माेमिटर र पाँच हजार थान फेस शिल्ड छन् ।
आइतवार प्रदान गरिएको सहयोग नेपाललाई आवश्यकता भएको तथा आपतको बेला निरन्तर जारी रहेको ‘टिम युरोप’को ऐक्यबद्धताको अर्को उदाहरण भएको बताउँदै ‘‘यो महामारीको शुरुआतदेखि नै “टिम युरोप” नेपालसँगै उभिएको छ र नेपाललाई सघाउन हामी तत्पर छौँ, सबैजना सुरक्षित नभएसम्म कोही पनि सुरक्षित हुँदैन,” राजदूत डेप्रेले भने ।