चौधरी ग्रुपद्वारा जनआस्था विरूद्ध प्रेस काउन्सिलमा उजुरी
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ भदौ ९ मंगलबार
129
Shares
काठमाडौं। प्रतिनिधि सभाका सदस्य एवं चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीका बारेमा नियोजित रूपमा अनर्गल प्रचार गर्ने जनआस्था साप्ताहिक र जनआस्थाडटकम विरूद्ध चौधरी ग्रुपले आज भदौ ९ गते मंगलवार प्रेस काउन्सिलमा उजुरी दर्ता गरेको छ । उक्त पत्रिकाले विगत लामो समयदेखि नेपालका ख्यातीप्राप्त उद्यमी चौधरीका बारेमा झूठा समाचार प्रकाशित गर्दै आएपछि उजुरी दिएको चौधरी ग्रुपको कर्पोरेट कम्युनिकेशन विभागले जनाएको छ ।
पछिल्लो समयमा जनआस्थाले ‘अर्थमन्त्री र प्रधानमन्त्रीको रहस्यमय मौनताः चौधरीद्वारा रातारात अरबौँ बाहिरिएको खुलासा’ र ‘अर्बपतिको ‘मुहान’मा बल्ला आक्रमण’ शिर्षकमा समाचार प्रकाशित गरेको थियो । ति पूर्णतया झुठा समाचार रहेको चौधरी समुहले काउन्सिलमा दिएको उजुरीमा उल्लेख छ ।
तथ्यहिन समाचार प्रकाशित गरेर चौधरी ग्रुपका अध्यक्षको राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरमा रहेको ख्यातीमा प्रतिकुल प्रभाव पार्ने दुस्प्रयास गरिएको भन्दै चौधरी ग्रुपले जनआस्था साप्ताहिक तथा उक्त पत्रिकाका सम्पादक किशोर श्रेष्ठमाथि प्रेस काउन्सिल ऐन, २०४८ को दफा १२ बमोजिम हदैसम्मको सजाय माग गरेर उजुरी दिएको छ । श्रेष्ठ काउन्सिलको कार्यवाहक अध्यक्ष हुन् ।