झापा। सन्राइज बैंक लिमिटेडले झापाको अर्जुनधारा गोलधापमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ। सो शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ५३ पुगेको पनि बैंकले प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ। बैंकले अर्जुनधारा नगरपालिका वडा नं ९, गोलधापमा खोलेको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिका रुपमा सुमन राईलाई नियुक्त गरेको छ। बिहीबार आयोजित एक कार्यक्रममा प्रमुख अतिथि अर्जुनधारा नगरपालिका मेयर हरिकुमार राना मगरको उपस्थिति रहेको थियो।
समारोहमा अर्जुनधारा नगरपालिका मेयर राना मगर र बैंकको प्रदेश १ का प्रमुख विवेक कुमार निरौलाले संयुक्त रुपमा शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरेका थिए।
बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत ए.टि.एम. कार्डमार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ।
यस सेवाबाट ग्राहकवर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने बैंकले जनाएको छ। कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ्ग पहँुच बढाउने उद्धेश्यका साथ बैंकिङ्ग सेवा सुरु गरेको बैंकले जनाएको छ।
हालसम्म सनराइज बैंकले १३९ वटा शाखा, ५३ वटा शाखारहित बैंकिङ्ग सेवा, ११ वटा एक्सटेन्सन काउण्टर र १६१ वटा एटिएम मार्फत आफ्ना ७ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ।
बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि बैकिङ्ग सेवा संचालन गर्दै जाने योजना रहेको जनाएको छ।