काठमाडौं। संसद विघटनको विरोधमा नेविसंघले बिहीवार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेको छ । संसद विघटन अलोकतान्त्रिक र असंवैधानिक भन्दै नेविसंघ सम्बद्ध बिद्यार्थीहरुले काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सहभागी बिद्यार्थीहरुले मुखमा कालो मास्क, निधारमा कालो फिता र त्यसमा नारा लेखेर प्रदर्शन गरेका थिए भने शरीरमा नारा लेखिएको कालो कपडा लगाएका थिए । युवा विद्यार्थीले ‘भ्रस्टाचारी केपी ओली मुर्दावाद, खोक्रो राष्ट्रवाद बन्द गर, असंवैधानिक कदम खारेज गर, विद्यार्थीको एउटै स्वर सरकार भित्र चोरै–चोर’ जस्ता नारा लेखिएका प्ले कार्ड प्रदर्शन गरेका थिए ।
नेपाल विद्यार्थी संघ शंकरदेव क्याम्पसद्वारा आयोजित प्रतिकात्मक विरोध प्रदर्शन कार्यक्रमको संयोजन नेता दिपक ओझाले गरेका थिए भने विभिन्न रचनात्मक तथ्य प्रतिकात्मक नाराहरु सहित कालो कपडाले शरीर बेरेर संघका नेताहरु दिपक ओझा, सुदिप बनाडी, दिल सैनाई, सुनिल पराजुली, आदित्य काफ्ले समेत ५ जना सडकमा सुतेका थिए ।
विरोध सभामा संघका महामन्त्रीद्वय बलदेव तिमिल्सिना, युवराज पाण्डे, पूर्व केन्द्रीय सदस्यहरु सुशील भट्ट, रत्नहरी ढुंगेल, नेताहरू बिपिन अधिकारी लगाएतले असंवैधानिक कदमका बिरुद्ध शसक्त प्रतिवाद गर्नुपर्ने बताएका थिए । नेबिसंघले शुक्रवार केन्द्रीय परिपत्र बमोजिम देशभर दौड जुलुस गर्दै छ ।