काठमाडौं । पाकिस्तानमा फेरि एउटा सर्जिकल स्ट्राइक भएको खबर आएको छ । बिहीबार आएको एक रिपोर्टको दाबी अनुसार ईरानको क्रान्तिकारी गार्डले २ फेब्रुअरीको राति पाकिस्तानमा छिरेर सर्जिकल स्ट्राइक गरेको हो ।
ईरानी सेनाले ३ वर्षअघि दक्षिण पश्चिमी पाकिस्तानमा आतंकवादी संगठन जैश–अल अदलद्धारा अपहरित २ बोर्डर गार्डलाई छुटाएको हो । यसबारे पाकिस्तानको इमरान खान सरकारले कुनै प्रतिक्रिया दिएको छैन ।
रिपोर्टअनुसार ईरानले पाकिस्तानी फौजमाथि कार्वाहीअघि कुनै जानकारी दिएको थिएन । ३ फेब्रुअरीमा ईरानी सेनाले आफ्नो मिसन सफल भएको बताएको छ ।
यो संगठनले ईरानको दक्षिण पूर्वी क्षेत्रमा हमला गर्दै आएको छ । २०१९ को फेब्रुअरीमा ईरानी सेना सवार बसमा हमला गरेको थियो । थृुप्रै सैनिक मारिएको र थुप्रै घाइते भएका थिए । यही संगठनले २०१८ को अक्टुबरमा १४ ईरानी सैनिकलाई अपहरण गरेको थियो ।
यसअघि भारत र अमेरिका पाकिस्तानमा छिरेर सर्जिकल स्ट्राइकलाई सफल पारिसकेका छन् । अमेरिकाले सन् २०११ को मे २ तारिखमा पाकिस्तानको एबोटाबादमा छिरेर अलकायदा प्रमुख ओसामा बिन लादेनलाई मारेको थियो ।
भारतले सन् २०१६ को सेप्टेम्बरमा सर्जिकल स्ट्राइक गरेको थियो । त्यस्तै सन् २०१९ को फेब्रुअरी १४ मा पुलवामा आक्रमणपछि २६ फेब्रुअरी मा बालाकोटमा एयर स्ट्राइक गरेको थियो । एजेन्सी