arrow

बुढानीलकण्ठमा अवैध उत्खनन् रोकिएन् : मेयर एक्सन लिन्छन्, वडाध्यक्ष टेर्दैनन् 

logo
प्रकाशित २०७७ माघ २६ सोमबार
budanilakantha.jpg

काठमाडौं । बुढानीलकण्ठ नगरपालिकामा संगठित रुपमा भइरहेका अवैध बालुवा उत्खनन, ढिस्का तथा डाँडो मास्ने, खोला मिचेर नदीजन्य सामग्री निकाल्नेक्रम अझै रोकिएको छैन् ।

नगरपालिकाको वडा नम्बर १३ कौडोल र चुनीखेल क्षेत्रमा अवैध बालुवा उत्खनन् गर्ने, ढिस्का तथा डाँडो मास्ने जस्तो प्राकृतिक दोहन हुने काम रोक्न स्थानीय अगुवाहरुले गरेको पहललाई नगरपालिकाले चासो नदिएको आरोप छ ।

सामूदायिक वन तथा राष्ट्रिय निकुञ्जलाई नै असर पार्नेगरी प्राकृतिक दोहन रोक्न नगरपालिकाको पहल पनि राजनीतिक संरक्षणका कारण निरर्थक बन्दै आइरहेको छ ।

चुनीखेल र कौडोलमा प्लटिङका नाममा डाँडा मास्ने, खोला मास्ने तथा बालुवा बेच्ने काममा सक्रिय भू-माफियाहरुसँग मेयर उद्धव खरेल, उपमेयर रमा राईलगायत प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार डा.राजन भट्टराईसम्मको मिलेमतो रहेको स्थानीय सामाजिक अगुवाहरुको भनाइ छ ।

तर मेयर खरेल उक्त आरोपको खण्डन गर्दै भन्छन्, ‘हाम्रो प्रकृति र पर्यावरणलाई मास्नेगरी अवैध रुपमा गरिने काम तत्काल बन्द गरिनेछ, उद्योग संचालन नै गर्दापनि विधि र प्रक्रिया अपनाएर गरिने छ ।’

मेयर खरेलले बालुवा उत्पादन गाउँमै गर्नु नराम्रो होइन तर विधि र प्रक्रिया अनुसार हाललाई उक्त उद्योग बन्द गराएर नयाँ प्रक्रिया अनुसार अघि बढ्ने बताए । उनले भने,‘चाँडै सार्वजनिक सुनुवाइको आयोजना गरेर सबैसँग परामर्श गर्दै वातावरण र पर्यावरणलाई असर नगर्ने गरी काम अघि बढाउँछौं ।’

अवैध रुपमा प्रकृति, वनजङ्गल तथा खोलानालालाई मास्ने काम रोक्न प्रदेश सांसद न्हूँच्छे श्रेष्ठलगायतका अगुवाहरुले गरेको पहल सत्तारुढ दल नेकपाकै शीर्ष नेताहरुको संरक्षणका कारण सफल हुन नसकेको एकथरीको भनाइ छ । ‘विधि विधान अनुसार प्राकृतिक दोहन रोक्न नगर  दोहन रोक्न सक्नुभएको छैन,’ सांसद श्रेष्ठले भने, ‘दोहन रोकेको भनी प्रचारबाजी गरिएको छ तर मिनी ट्रक छिर्ने सडकमा रातारात टिप्परमार्फत बालुवा ओसारपसार भइरहेको छ ।’

प्राकृतिक एवम् जैविक क्षेत्रको विनाश गरिरहेको चिहानेखोलामा स्थापना गरिएको बालुवा वासिङमा बुढानीलकण्ठ नगरपालिका वडा नं १३ का वडाध्यक्ष श्रीकृष्ण श्रेष्ठकै लगानी रहेका कारण दोहन नरोकिएको स्थानीयको बुझाइ छ । स्थानीय चारवटा सामुदायिक वनले घेरेको यस वडामा फराकिला सडकहरु पनि बनिरहेकाले जग्गा प्लटिङको क्रम तीब्र छ । बालुवा निकाल्नेदेखि प्लटिङ गर्नेसम्मको काममा वडाध्यक्ष आफै शेयरहोल्डर रहेको बुझिएको छ ।

सामुदायिक वनसँगै जोडिएको जमिनलाई मास्ने तथा खार्ने काम भैरहँदा त्यसलाई रोक्न नगरपालिकाले तत्काल पहल नगर्दा समस्या बढ्दै गएको बताइन्छ । यता थानेडाँडा सामुदायिक वन मुनीको ५० डिग्रीभन्दा धेरै भिरोलो पाखामा डोजरलगायतका मेसिनले माटो खोतलेर गरिन लागेको माटोको व्यापारले प्रकृतिलाई असर परिरहेको स्थानीयबासीको भनाइ छ ।

आधा दर्जनभन्दा धेरै सामुदायिक वनसहित राष्ट्रिय निकुन्ज रहेको बुढानिलकण्ठ नगरपालिका भूमाफियाको सबैभन्दा धेरै चलखेल हुने गरेको पाइएको हो ।

नगरपालिकाका प्रवक्ता नवराज भट्टराईका अनुसार अवैध रुपमा भइरहेको उत्खनन्लाई रोक्न मेयर र उपमेयरको अगुवाइमा फिल्ड भिजिट नै गरेर सम्बन्धीत पक्षलाई लिखित पत्र बुझाइसकिएको छ । उनले भने, ‘नरोकिएको भए चाँडै नै त्यसलाई रोक्न नगरपालिकाले नयाँ कदम चाल्न सक्छ ।’



लोकप्रिय समाचार
नयाँ