उर्लाबारी । नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) उर्लाबारी बहुमुखी क्याम्पस इकाई समितिले क्याम्पस सुधारको माग प्रशासनले पुरा नगरेको भन्दै क्याम्पसमा तालाबन्दी गरेको छ । ज्ञापन पत्र बुझाएको १० दिन पुरा भइसक्दा पनि कुनै पनि सुनुवाइ नभएको भन्दै तालाबन्दी गरिएको नेविसंघ उर्लाबारी बहुमुखी क्याम्पसका सभापति सुजित जैसवालले बताए ।
यद्यपि, क्याम्पसमा तालाबन्दी गरिए पनि विद्यार्थीको पठनपाठन र आन्तरिक परीक्षा र प्राध्यापकहरूको दैनिक कार्यमा कुनै बाधा अवरोध नगरिएको सभापति जैसवालले बताए । नेबिसंघले कोरोना भाइरसका कारण लकडाउन भएको अवधिमा शैक्षिक कार्यक्रम बन्द भएको अवस्थाको मासिक शैक्षिक शुल्क र क्याम्पस बसको शुल्क अविलम्ब फिर्ता गरिनुपर्ने, डिजिटल प्रविधिको विद्यार्थी परिचय पत्र र पुस्तकालय परिचयपत्र अविलम्ब वितरण गरिनुपर्ने, क्याम्पसको चमेना गृह तत्काल सञ्चालनमा ल्याउनुपर्ने माग राखेको थियो ।
यस्तै पुस्तकालयमा एक विद्यार्थी एक सेट पुस्तक उपलब्ध गराउनुपर्ने,खेल खेलौँ स्वास्थ्य रहौँ भनी विभिन्न खेलकुद कार्यक्रम सञ्चालन गर्नुपर्ने, क्याप सको प्रवेशद्वार गेट चाँडो भन्दा चाँडो बनाइनुपर्ने, इन्टरनेट तथा अनलाइन लाइब्रेरीको व्यवस्था गरिनुपर्ने समेत माग राखिएको छ ।
यसैगरी शैक्षिक सरोकार तथा विद्यार्थीसँग प्रत्यक्ष जोडिने विभिन्न तालिमहरू सञ्चालन गर्नुपर्ने, शुद्ध खानेपानीको प्रवर्द्धन तथा वास रुम शौचालय लाई व्यवस्थित गरिनुपर्ने, क्याम्पसको शैक्षिक भवनमा लेखिएको क्याप सको नेमप्लेट पुन रंगरोगन गरी तत्काल निर्माण गरिनुपर्ने समेत माग राखिएको र माग पुरा नभए आन्दोलित हुने जैसवालले चेतावनी दिएका थिए ।