काठमाडौं। काठमाडौंको उत्तरी क्षेत्रमा पर्ने नागार्जुनस्थित शिवपुरी राष्ट्रिय निकुञ्जको जङ्गलमा डढेलो लागेको छ ।
बिहान १० बजेदेखि सुरु भएको डढेलोबाट फैलिएको आगो अहिलेसम्म नियन्त्रणमा आएको छैन । आगो निभाउनका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र काठमाडौं महानगरपालिकाको दमकल पठाइएको छ ।
महानगरीय प्रहरी वृत्त महाराजगन्जका डीएसपी रोशन खड्काले आगो नियन्त्रणमा लिने प्रयास जारी रहेको बताए ।
बुढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्धवप्रसाद खरेलले दमकलबाट आगो नियन्त्रणको प्रयास जारी रहेको र सिम्रिक एयरको हेलिकप्टरबाटसमेत आगो नियन्त्रणका लागि पानी खसाल्ने काम भइरहेको जानकारी दिए ।
नगर प्रमुख खरेलका अनुसार बुढानिलकण्ठ १ तङ्लुङ गाउँ भन्दा माथिल्लो भेगको जङ्गलमा आगो लागेको हो ।