काठमाडौं । भारतको महाराष्ट्रस्थित पालघर जिल्लाको विराट वेष्टस्थित विजय वल्लभ कोभिड सेन्टरको आईसीयूमा आगलागी भएको छ । उक्त आगलागीबाट १३ जना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा चार महिला हुन् । उक्त समयमा आईसीयूमा १५ बिरामी रहेका थिए । उक्त अस्पतालमा आगलागीको समयमा ९० जना बिरामी भर्ना भएका थिए ।
यीमध्ये अक्सिजन चाहिने बिरामीलाई अर्को अस्पतालमा सिफ्ट गराइएको थियो । आगलागी एक घण्टामा नियन्त्रणमा लिइएको थियो ।
आगलागी स्थानीय समयअनुसार शुक्रबार बिहान ३ः२५ बजे लागेको थियो । एसीमा सर्ट सर्किट भएपछि आगलागी भएको बताइएको छ । मुख्यमन्त्री उद्धव ठाकरेले घटनाको जाँचका लागि आदेश दिएका छन् ।
बिरामीका परिवारजनले भने आगलागी भएका समयमा अस्पतालका कर्मचारीहरु बिरामी छाडेर भागेकाले गर्दा बिरामीले ज्यान गुमाउन परेको आरोप लगाएका छन् ।
परिवारका सदस्यहरु आफैले अस्पताल भित्र गएर बिरामी निकाल्ने कोशिशसमेत गरेका थिए । उक्त आगलागीका समयमा आईसीयूमा दुई जना नर्स थिए ।
अस्पतालका सीईओ दिलिप शाहले अस्पतालमा रातमा डाक्टर पनि रहेको दाबी गरे ।
दुई दिनअघि नासिकस्थित जाकिर हुसैन अस्पतालमा अक्सिजन ट्यांक लिक भएर आगलागी हुँदा २४ बिरामीको ज्यान गएको थियो ।