काठमाडौँ । नेपाली कांग्रेसको विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) ले विद्यार्थीको स्वास्थ्य माथिको खेलबाड बन्द गर्न सरकारसँग माग गरेको छ ।
प्रत्येक दिन देशभर कोरोना भाइरसका संक्रमितको सङ्ख्या बढि रहँदासमेत त्यसप्रति सरकारको अकर्मण्यता र लाचारीपूर्ण व्यवहारले विद्यार्थीहरूको स्वास्थ्य र भविष्यमाथि ठुलो खेलबाड भइरहेको भन्दै सङ्घका अध्यक्ष राजीव ढुङ्गानाले प्रेस विज्ञप्तिमार्फत सरकारको लाचारीप्रति रोष प्रकट गरेका छन् ।
नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले सरकार गम्भीर नहुनुले यो सरकार रहुन्जेलसम्म नेपाली नागरिकको बाँच्ने हक सुरक्षित हुन सक्दैन र यो सरकार जनतालाई राहत होइन आहात दिन उद्यत छ भन्ने कुराको स्वयं सरकारको प्रत्येक गतिविधिले पुष्टि गरिरहेको आरोप बताए ।
नेविसंघका महामन्त्री दीपक भट्टराईले विद्यार्थीहरू संक्रमित र संक्रमणकै कारण मृत्यु भइसक्दा समेत सरकार गम्भीर नहुनुले विद्यार्थीहरू थप सङ्कटमा परिरहेको बताए। उनले भने,'कोरोना संक्रमणको उच्च जोखिममा रहेका र दिन प्रतिदिन संक्रमण बढी रहेको सबै शिक्षण संस्थाहरूमा स्वास्थ्य सावधानी र सतर्कताको तत्काल विशेष सुरक्षा व्यवस्था लागु र कार्यान्वयन गर्नुपर्छ ।'
कोरोना संक्रमणको उच्च जोखिम दिन प्रतिदिन बढी रहेको सन्दर्भमा सबै विद्यालय, विश्वविद्यालय, क्याम्पस,कलेज र शिक्षालय लगायतका शिक्षण संस्थाहरूमा स्वास्थ्य सावधानी र सतर्कताको तत्काल विशेष व्यवस्था गर्न र सबै विद्यार्थीहरुलाई तत्काल खोपको पूर्ण व्यवस्था गर्न सरकारसँग नेविसंघले माग गरेको छ ।