अफगानिस्तानमा 'प्रोक्सी वार' को समर्थन गर्ने पाकिस्तानविरुद्ध कडा प्रतिबन्धको चेतावनी
एजेन्सी
प्रकाशित २०७८ वैशाख ४ शनिबार
231
Shares
ओटावा। अफगानिस्तानका लागि क्यानडाका पूर्व राजदूत क्रिस अलेक्ज्याण्डरले शनिवार अफगानिस्तानमा अझै पनि प्रोक्सी युद्धलाई समर्थन गरिरहेका पाकिस्तानीहरूले कडा प्रतिबन्धको सामना गर्नुपर्ने चेतावनी दिएका छन्।
द हिलमा प्रकाशित 'अफगानिस्तानमा पाकिस्तानको प्रोक्सी युद्धको अन्त्य' शीर्षकमा प्रकाशित अलेक्ज्याण्डरको लेखमा भनिएको छ, "पाकिस्तानमा अझै पनि अफगानिस्तानमा प्रोक्सी युद्धलाई समर्थन गर्नेहरू छन्। त्यस्तो समर्थन गर्ने व्यक्तिहरूले कडा प्रतिबन्धको सामना गर्नुपर्दछ।"
पाकिस्तानलाई फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) ले पनि कालो सूचीमा राख्नुपर्ने उनले बताएका छन्। "अफगानिस्तानलाई केवल अन्तहीन युद्ध" को रूपमा चित्रण गर्न खोजिएको छ,"उक्त लेखमा भनिएको छ।
अफगानिस्तानमा सधैँभरि युद्ध चाहने आईएसआईको दशकौँको आक्रमणलाई असफल पार्न सबै निकाय लाग्नुपर्ने समेत सुझाइएको छ। उनले २० वर्षको कडा परिश्रम पछि अफगानिस्तानमा युद्ध विराम र स्थायी शान्तिको बाटोको लागि अमेरिका र यसका सहयोगीहरूले पाकिस्तानको प्रोक्सी युद्धलाई अन्त्य गर्न सामूहिक कारबाही गर्न आवश्यक भएको जनाएका छन्।
यद्यपि हालसालै प्रकाशित गरिएको अर्को एक रिपोर्टमा अलेक्ज्याण्डरले लेखेका छन्, "अफगानिस्तान र काश्मीरको राष्ट्रिय रणनीतिको हिस्साको रूपमा पाकिस्तानको सेनाले तालिबानलाई समर्थन गरिरहेको छ। जुन सन् १९४७ देखि काबुलले संयुक्त राष्ट्र सङ्घमा पाकिस्तानको सदस्यता विरुद्ध मतदान गरेपछि पाकिस्तानले लगातार अनुसरण गरिरहेको छ।"
गत वर्ष डिसेम्बरमा, एक भिडियोको शृङ्खला क्रमबद्ध भएको जनाउँदै वरिष्ठ तालिबानी नेताहरूले उनीहरूका अनुयायीहरू र पाकिस्तानमा तालिबानी लडाकुहरूलाई भेटेका थिए।
क्यानडाली कूटनीतिज्ञले यस महिनाको सुरुमा टोलो न्युजलाई दिएको एक अन्तर्वार्तामा भनेका थिए, "पाकिस्तानको सेनाको विशेष गरी देशको शक्तिशाली सैन्य खुफिया, अन्तर-सेवा खुफिया (आईएसआई) ले "तालिबानलाई सुसज्जित" बनाउन सहयोग गरिरहेको छ।"