पाकिस्तानमा दोस्रो लहरमा गम्भीर बिरामीको सङ्ख्या पहिलेको भन्दा ५७ प्रतिशतले बढी
सिन्ह्वा,
प्रकाशित २०७८ वैशाख १८ शनिबार
113
Shares
तस्बिर : फाइल
इस्लामवाद। पाकिस्तानमा कोभिड१९ को अघिल्लो वर्षको भन्दा गम्भीर बिरामी हुने व्यक्तिको सङ्ख्या कम्तीमा पनि ५७ प्रतिशतले बढेको देखिएको बताइएको छ। यहाँका अधिकारीहरूले पाकिस्तानमा अघिल्लो वर्षमा भएका बिरामीहरूको तुलनामा यस वर्ष कम्तीमा पनि ५७ प्रतिशतले बिरामी बढेको पाइएको बताएका हुन्।
पाकिस्तानमा अहिले गम्भीर प्रकृतिका बिरामी भएर भेन्टिलेटरमा रहेको सङ्ख्या ५ हजार भन्दा बढी छ। पाकिस्तानका विभिन्न अस्पतालहरूमा अहिले ५ हजार ३६० जना कोभिडका बिरामी भेन्टिलेटरमा उपचाररत रहेका बताइएको छ।
यहाँको स्वास्थ्य मन्त्रालयका एक जना अधिकारीले भनेका छन् कि अघिल्लो वर्ष जुन महिनामा यहाँको कोरोनाका सङ्क्रमितहरूको सङ्ख्या उच्च पुगेको थियो। गत वर्षको जुन महिनामा यहाँ सबैभन्दा बढी अर्थात् दुई हजार जना भेन्टिलेटरमा राखिएको थियो।
तर अहिले भने यसरी गम्भीर प्रकृतिको बिरामी भएर भेन्टिलेटरमा राख्नु परेका बिरामीको सङ्ख्या ५ हजार नाघिसकेको छ। यहाँका अधिकारीहरूले अघिल्लो वर्षको तुलनामा पाकिस्तानमा कोरोनाको दोस्रो लहर बढी सङ्क्रामक रहेको पनि बताएका छन्।
पाकिस्तानमा अहिलेसम्म आठ लाखभन्दा बढी व्यक्ति कोरोनाका सङ्क्रमित भएका छन् भने १७ हजार जनाभन्दा बढीको ज्यान गएको बताइएको छ।