दार्चुला । आफूले चढ्ने गाडीलाई बिरामी बोक्ने एम्बुलेन्सको रूपमा प्रयोग गर्ने दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले घोषणा गरेका छन् ।
शुक्रवार बसेको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकमा आफूले चढ्दै आएको गाडीलाई बिरामी बोक्ने एम्बुलेन्सको रूपमा प्रयोग गर्ने घोषणा गरेका हुन् ।
‘मैले आजै घोषण गरे, मैले चढ्ने गाडी एम्बुलेन्सकै रूपमा प्रयोग गरे हुन्छ । ’ प्रजिअ जोशीले भने ।
तीव्र रूपमा फैलिरहेको कोरोना संक्रमणका कारण एम्बुलेन्सहरू संक्रमित बोक्नमा प्रयोग भएपछि कोरोना बाहेकका बिरामीलाई समस्या हुँदा आफूले चढ्ने गाडीलाई एम्बुलेन्सको रूपमा प्रयोग गर्न सकिने घोषणा गरेको उनले बताए ।
जिल्ला प्रशासनको बा २ झ ६७ नम्बरको गाडी कोरोना भाइरस संक्रमित बाहेकका बिरामीलाई बोक्ने गरी एम्बुलेन्सको रूपमा प्रयोग गर्न मिल्नेछ ।
यसै गरी जनप्रतिनिधिहरुले समेत आफू चढ्ने सवारी साधन बिरामी बोक्ने एम्बुलेन्सका रूपमा प्रयोगमा ल्याउन थालेका छन् ।
यसै अन्तर्गत शैल्यशिखर नगरपालिकाका प्रमुख अमर सिंह धामीले समेत आफूले चढ्दै गरेको म १ च ७२७ नम्बरको स्कार्पियोलाई एम्बुलेन्सको रूपमा प्रयोग गरिने बताएका छन् ।