दार्चुला । दार्चुलामा सशस्त्र द्वन्द्वका बेला खुलामञ्चमा लुकाएर राखेको बम फेला परेको छ । जिल्ला सदरमुकामको महाकाली नगरपालिका–४ स्थित खुलामञ्चमा द्वन्द्वकालमा लुकाई राखेको अवस्थामा पाइप बम फेला परेको प्रहरीले जनाएको छ ।
कालो प्लास्टिकको सामानभित्र लुकाई छिपाई राखेको अवस्थामा पाइप बम फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी नरेन्द्र चन्दले जानकारी दिए । सो बम अत्यन्तै पुरानो भएकाले द्वन्द्वकालको भएको जनाइएको छ ।
बिहीबार बिहान ११ बजेतिर मञ्चको मध्य भागमा मजदुरहरूले जमिन खन्ने क्रममा उक्त बम फेला पारेका हुन् । बेरिएको अवस्थामा शङ्कास्पद वस्तु फेला परेपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले जिल्लास्थित गुरु गोरख गुल्मलाई खबर गर्दा तत्काल सेना खटिई बिहीबार नै बम डिस्पोज गरिसकेको छ ।