दार्चुला । दार्चुलाका नौ वटै स्थानीय तहमा कोरोना संक्रमण देखिएको छ । नयाँ भेरियन्ट सहितको कोरोना संक्रमण जाँच्न जिल्लामा अहिले एन्टिजेन विधिबाट परीक्षण भइरहेको छ । भारतका विभिन्न ठाउँबाट आएका नेपालीहरुको लागि शुरुमा सीमा नाकामा एन्टिजेन परिक्षण गरियो ।
पछिल्लो समय जिल्लाका अस्पतालहरुमा रुघाखोकी र ज्वरोका बिरामीहरुको चाप बढेपछि अस्पतालहरुमा पनि परीक्षण शुरु भयो । स्वास्थ्य समस्या लिएर आएकाहरुमा परीक्षण गर्दा पोजेटिभ देखिएपछि अहिले सबै पालिकाहरुमा एन्टिजेन परीक्षण भइरहको छ ।
एन्टिजेन परीक्षणमा दिनहुँ २०–३० को हाराहारीमा संक्रमण देखिन थालेको छ । ट्राभल हिस्ट्री नभएकाहरुमा पनि कोरोना देखिन थालेपछि संक्रमण समुदायस्तरमा फैलिसकेको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
मंगलबार मात्रै महाकाली नगरपालिका–९ उडैँमा स्वास्थ्य समस्या रहेका १२ जनामा परिक्षण गर्दा ८ जनामा संक्रमण देखिएको स्वास्थ्य शाखा संयोजक मोहन महराले जानकारी दिए ।
यसअघि पनि वडा नम्बर ७ का एकैबस्तीका १७ जनामा संक्रमण देखिएको थियो । अहिले दार्चुलाका ग्रामिण भेगमा भाइरल ज्वरोका बिरामी छन् ।
कोरोना पोजेटिभ देखिने डरले उनीहरु स्वास्थ्य जाँच गर्न अस्पतालसम्म आउँदैनन् । जिल्लाका धेरैजसो गाउँमा अहिले कोरोनासँग मिल्दो लक्षण भएका बिरामी बढेका छन् ।
रुघाखोकी, ज्वरो र शरीर दुख्ने समस्याका बिरामी अधिकांश गाउँमा रहे पनि उनीहरूको जाँच हुन सकेको छैन । लेकम गाउँपालिका–५ मैखोलीमा २५–३० जना बिरामी परेको स्थानीय केशव दत्त जोशीले बताए । उनले भने, “एकै घरका दुई तीन जना समेत बिरामी परेका छन् । तीन हप्ता पहिले देखि भाइरल ज्वरो फैलिएको छ ।”
छिमेकी देश भारतमा कोरोनाको दोस्रो लहर तीव्र रुपमा फैलिएपछि नेपालीहरु धमाधम घर फर्किन थालेका छन् । उनीहरुको सीमा नाकामा चेक गराई सामान्य अवस्था रहेकाहरुलाई गाउँ पठाउने गरिन्छ । भारतबाट फर्किएकाहरू सिधै गाउँघरमा पस्दा कोरोनाको जोखिम झनै बढेको मार्माका स्थानीय दिनेश बहादुर सिंह बताउँछन् ।
‘गाउँघरमा उनीहरू स्वतन्त्र भएर घुमिरहेका छन्,’ उनले भने । यहाँका धेरै मानिसहरू रोजगारी र मजदुरीका लागि भारतका विभिन्न सहरमा जाने गर्छन् । यस्तै पढाइका लागि धनगढी, महेन्द्रनगर, काठमाडौं लगायतका सहर पसेका विद्यार्थीहरु पनि घर फर्किसेकका छन् ।
भारतबाट आएकाबाट मात्र कोरोना नसरेर ट्राभल हिस्ट्री नभएकालाई पनि गाउँमा कोरोना देखिरहेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । स्वास्थ्य कार्यालयका प्रमुख जयराज भट्ट भने, ‘समुदायमा संक्रमण फैलिएको छ । बाहिरतिर कही नगएका व्यक्तिहरूमा पनि संक्रमण देखिएको छ । यसले समुदायमा संक्रमण फैलिएको पुष्टि गर्छ ।’
दार्चुलामा हालसम्म आशंकितबाहेक समुदायस्तरमा कोरोना परीक्षण भएको छैन । हालसम्म समुदायमा सङ्क्रमण देखिनेमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, कर्मचारी, सुरक्षाकर्मी र सर्वसाधारण छन् ।
यसैगरी मंगलबार अपी हिमाल गाउँपालिकामा एकैदिन ५८ जनामा कोरोना देखिएको छ । मंगलवारमात्रै दार्चुलामा ६९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाका सिआइसिटी सहजकर्ता सुरज सुजन बोहराले जानकारी दिए । योसँगै जिल्लामा कोरोना संक्रमित हुनेको संख्या २ सय ७० पुगेको छ भने मृत्यु हुनेको संख्या ४ रहेको छ ।
कोरोना संक्रमणको चेन ब्रेक गर्न जिल्लामा वैशाख मसान्तसम्म निषेधाज्ञा जारी गरिएको छ । सवारी साधन र आवतजावतलाई बन्द गरिनुका साथै प्रहरीले गाउँगाउँमा सचेत गराइरहेको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जनाए ।