काठमाडौं। नेपाली कांग्रेसका नेता गगन कुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई डा. गोविन्द केसीको मागका बारे केहि प्रश्नहरु गरेका छन्। प्रश्न सहित डा.केसीको जीवन तलमाथि भएमा शतप्रतिशत दोषी प्रम ओली हुने थापाले बताएका छन्।
नेता थापाले प्रम ओलीलाई आफैले हिजो गरेको वाचा पूरा नगर्दा ति बिषय नै माग बनेका हुन् भनेर सम्झाएका छन् । ट्विटर र फेसबुकमा नेता थापाले डा. केसीको माग पूरा गर्न आग्रह गर्दै त्यसमा प्रतिपक्ष दलको पुरा साथ सहयोग रहने पनि बताएका छन्।
डा. केसीजस्ता सत्याग्रहीमाथि दुराग्रह राखेर वेवास्ता गरेमा त्यस्को ठूलो मूल्य चुकाउनु पर्ने नेता थापाले प्रधानमन्त्रीलाई चेतावनी पनि दिएका छन्। डा. केसीको मागहरु बारेमा कुन माग जनहित विपरित रहेको र पूरा गर्न नसकिने छन् भनेर थापाले प्रश्न गरेका छन्।
चिकित्सा शिक्षा सुधारको माग राखेर १९ औं पटक २२ दिनदेखि डाक्टर केसी अनसनमा रहेका छन्। जुम्लामा अनसन बसेका केसीलाई काठमाडौं ल्याएर त्रिवि शिक्षण अस्पताल राखिएको छ। उनको स्वास्थ्य दिनप्रतिदिन बिग्रँदै छ।
नेता थापाले लेखेको फेसबुक स्टाटस -
‘प्रधानमन्त्रीज्यू,डा.गोविन्द केसीले राख्नुभएको कुन चाहिँ माग पूरा नहुने/गर्न नसकिने छ? कुन माग जनहित विपरीत छन्?
तपाईँ आफैले हिजो गरेको बाचा पूरा नगर्दा नै यी विषय आज माग बनेका होइनन् र?
डा.केसीसंग संवाद नै गर्दिन भन्ने तपाईँको हठले के तपाईँको मान बढाउँछ?
पुरा गर्न सकिने र गर्नुपर्ने माग छन्,पूरा गर्नुहोस्।यसमा हाम्रो पूर्ण साथ र सहयोग रहनेछ।तर,एउटा सत्याग्रहीमाथि दुराग्रह राखेर बेवास्ता गर्नुभयो भने त्यसको ठुलो मूल्य तपाईँले चुकाउनु पर्नेछ।
प्रमज्यू ,ख्याल राख्नुहोला,यदि डा.केसीको जीवन तल माथि भयो भने यसको शत प्रतिशत दोषी तपाईँ हो।‘