गगन थापा र अन्जना केसी थापाले प्लाज्मा दान गर्ने, राम्रो काम शुरु गरेकोमा प्रदीप पौडेललाई धन्यवाद
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ कार्तिक २० बिहिबार
193
Shares
काठमाडौं। एक छोरी बाहेक परिवारका सबै सदस्य कोरोना संक्रमित भएर हालै निको भएका नेपाली कांग्रेसका नेता गगन थापा र श्रीमती अन्जना केसी थापाले प्लाज्मा दान गर्ने जानकारी दिएका छन् । कोरोनामुक्तहरुको प्लाज्मा कोरोना संक्रमितको उपचारमा प्रभावकारी देखिएपछि यो विधिलाई अहिले अस्पतालहरुमा प्रयोग गर्दै आएका छन् । तर कोरोनामुक्तहरुले प्लाज्मा दानमा खासै उत्सुकता नदेखाउँदा प्रभावकारी ढंगले संकलन हुन नसकिरहेको अस्पतालहरुले जानकारी दिदै आएका छन्।
यहि अवस्थालाई दृष्टीगत गरि नेपाली कांग्रेसका नेता प्रदिप पौडेलले प्लाज्मा एपको शुरुवात गरेका छन् । सो एपमा प्लाज्मा दान गर्न इच्छुकले आफ्नो नाम दर्ता गर्न सकिने लगायतका फिचरहरुको व्यवस्था गरिएको छ । सो एपमा आफू र श्रीमतीले नाम दर्ता गराएको जानकारी दिदै नेता थापाले महत्वपूर्ण कामको आरम्भ गरेकोमा सहकर्मी कांग्रेस नेता पौडेललाई धन्यवाद पनि दिएका छन्।
बिहिवार साँझ ट्वीट गर्दै थापाले लेखेका छन्, ' काेराेना संक्रमित कैयनको उपचारमा प्लाज्मा थेरापी प्रभावकारी देखिएको छ। काेराेना संक्रमणबाट भर्खर मुक्त @anjanakcthapa र मैले पनि प्लाज्मा दान गर्ने साेचले प्लाज्मा एपमा नाम दर्ता गराएका छाैं। यस्तो एपको महत्त्वपूर्ण कार्य आरम्भ गर्नुभएकोमा @paudelpradipNC लाई धन्यवाद !!'
थापाको ट्वीट पछि पौडेलले ट्वीटमै आफूहरुको प्रयत्नमा साथ र सहभागिताको लागि धन्यवाद दिएका छन् । उनले ट्वीटमा लेखेका छन्, 'मानव जातिको सामु उपस्थित भएको यो संकटलाई सामुहिक रुपमा परास्त गर्नुपर्नेछ । संकटलाई पराजित गर्नका लागि चालिएको यो सानो प्रयत्न हो । यो प्रयत्नमा शुरुदेखी नै तपाईंले दिनुभएको साथ र सहभागीताका लागि धन्यवाद सहित हार्दिक आभार। '