arrow

श्रीमान् ! जनताले तपाईँहरूको विवेकको परीक्षण गरिरहेका छन्, विवेक नगुमाउनुहोस् : गगन थापा

logo
सञ्जय भट्टराई,
प्रकाशित २०७७ फागुन ९ आइतबार
gagn-thapa1.JPG

कावासोती । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले नेपाली जनताले यति बेला सर्वोच्चका न्यायाधीशहरुको विवेकको परीक्षण गरिरहेको बताएका छन् ।

आइतबार पूर्वी नवलपरासीको हुप्सेकोटमा नेपाली काङ्ग्रेस हुप्सेकोटले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै नेता थापाले भने " श्रीमान् तपाईँहरू प्रधानमन्त्रीले चालेको कदम संवैधानिक छ छैन भनेर परीक्षण गरिरहनु भएको तर आम जनताले न्यायाधीशहरुको विवेक र साहसको परीक्षण गरिरहेका छन् ।"

आमसभालाई सम्बोधन गर्दै नेता थापाले अहिले देशमा प्रधानमन्त्रीका केही सीमित मान्छे बाहेक सबैले संसद् विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भनिरहेको वर्तमान अवस्थामा न्यायाधीशहरुले संविधान र आमजनताको भावना बुझेर फैसला गर्न आग्रह गरेका छन् ।

आमसभालाई सम्बोधन गर्दै नेता थापाले सरकार सामाजिक सञ्जाल सम्बन्धी निर्देशिका जारी गरेर अभिव्यक्ति स्वतन्त्रता माथि बन्देज लगाउने बाटोमा अगाडी बढेको बताउँदै त्यसको प्रतिरोध गरिने समेत बताए ।

अहिलेको सङ्घर्षको विषय चुनावमा भाग लिने वा नलिने मात्रै नभएर विगत ६० वर्ष देखि जनताको बलले प्राप्त गरेको सबै ऐतिहासिक उपलब्धि र संविधानको रक्षा भएकोले नेपाली काङ्ग्रेस संविधान र प्राप्त उपलब्धिको रक्षाको पक्षमा रहेको बताएका थिए ।

नेपाली काङ्ग्रेस हुप्सेकोटले सरकारको अलोकतान्त्रिक र असंवैधानिक कदमका विरुद्ध आयोजना गरेको आमसभामा नेपाल कम्युनिस्ट पार्टी परित्याग नेपाली काङ्ग्रेस प्रवेश गर्ने २ सय ५० जनालाई थापाले काङ्ग्रेसमा स्वागत गरेका थिए ।

आमसभामा नेपाल तरुण दलका कोषाध्यक्ष विद्वान गुरुङ , नेविसंघ महामन्त्री युवराज पाण्डे , काङ्ग्रेस नेताहरू चन्द्रबहादुर राना, विष्णुकुमार कार्की , ओमकला गौतम, महेन्द्र ध्वज जि सी, विष्णु लामिछाने , कृष्ण चन्द्र नेपालीले सम्बोधन गरेका थिए ।



लोकप्रिय समाचार
नयाँ