सर्लाही । नेपाली काँग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिदा गर्ने तर्फ काँग्रेस लाग्नुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन सर्लाहीले बिहीबार बिहान गरेको पत्रकार सम्मेलनमा नेता थापाले यस्तो बताएका हुन् ।
नेता थापाले भने,' पहिले सरकारमा जाने नजाने भन्दा पनि सरकार कसरी हटाउने भन्नेमा अब काँग्रेसले ध्यान दिनुपर्छ ।' यसको लागि काँग्रेसका नेता कार्यकर्ताले अरूको मुख ताक्नु भन्दा आफैँले भए पनि अविश्वासको प्रस्ताव ल्याउन अग्रसर हुनुपर्ने उनको भनाई छ । उनले यो बेलामा काँग्रेस सरकारमा जाने हतारो गर्नुभन्दा पनि संविधान रक्षाकै निमित्त उभिन जरुरी रहेकोमा जोड दिए ।
फरक प्रसङ्गमा बोल्दै उनले यदि साँच्चिकै देश विकास गर्ने हो भने देशको प्रधानमन्त्री बन्नु भन्दा पहिले पाँच वर्षको लागि जनताले देश चलाउन कुनै पनि पार्टीलाई म्यान्डेट दिए हुने र देश विकास गर्न प्रधानमन्त्री बनेको दिनदेखि बाहिरिने दिन सम्मको तालिका बनाएर लागे मात्र देश विकाश हुने नेता थापाको कथन छ ।
यसको लागि जिम्मेवारी लिने व्यक्तिले कुनै पनि निर्णय लिनु अघि गम्भीर भएर सोच्न आवश्यक रहेको उनले जोड दिए । यसरी तालिका विहीन रूपमा काम गर्दा दुर्घटनामा पर्ने उनको दाबी छ । यसरी गन्तव्यविहीन यात्रा गर्दा बाटैमा अलमलिने अवस्था आएको थापाको भनाई रहेको थियो ।