काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू विरोधी समूहलाई धमाधम कारबाही गर्न थालेपछि माधवकुमार नेपाल र झलनाथ खनाल समूह आक्रामक बन्न थालेको छ ।
केही दिनअघि नेता नेपाल र भीम रावललाई अध्यक्ष ओलीले कारबाही गरेपछि एमाले भित्र समानान्तर गतिविधि सुरु भइसकेको छ ।
बिहीबार मात्रै नेता नेपालले पोखरा पुगेर कास्की जिल्ला कमिटी घोषणा गर्दै देशव्यापी सङ्गठन बनाउने उद्घोष गरेका छन् । उनले यो अभियान सबै जिल्लामा लैजाने र प्रदेश कमिटीहरू पनि गठन गरिने बताए ।
बुधवार मात्रै नेता नेपालले युवा सङ्घका आफू पक्षीय सङ्गठनको काठमाडौँको बुद्धनगरमा कार्यालय स्थापना गरेका थिए । युवा सङ्घको समानान्तर कमिटी पनि जिल्ला तहसम्म नै लैजाने सो समूहको रणनीति छ ।
‘देशव्यापी सङ्गठन बनाउने अभियानमा हिँडेका छौँ, प्रदेश र जिल्ला तहमा पनि यो अभियान लैजान्छौँ, भातृ संस्थाहरू पनि अब सक्रिय बनाइन्छ ।’ पोखरामा जिल्ला कमिटी घोषणा कार्यक्रममा नेता नेपालले भने ।
नेता नेपालले ओलीको मनोमानीबाट पार्टी नचल्ने भन्दै गाउँ गाउँसम्म एमाले भित्र आफ्नो पक्ष बलियो रहेको दाबी गरे । कूल आठ लाख मध्ये आफ्नो पक्षमा देशभर छ लाख नेता कार्यकर्ता रहेको नेपालले दाबी गरेका छन् ।
‘सङ्गठन कसको बलियो छ भन्ने गाउँ गाउँ गएर हेर्नु पर्छ, कोठामा बसेर पार्टीमा मनोमानी चल्दैन, देशव्यापी रूपमा एमाले भित्र हामी बलियो छौँ, कूल आठ लाख मध्ये हामी छ लाखको हाराहारीमा छौँ ।’ नेता नेपालले सम्बोधनका क्रममा भने ।
उनले आगामी निर्वाचनमा आफ्नो समूहले आफैँ उम्मेदवारहरूलाई टिकट दिने दाबी समेत गरे । निर्वाचनमा अन्य दलसँग तालमेल गरेर ओली समूहलाई हराएर देखाइदिने चेतावनी नेपालको छ ।
‘चुनावको घोषणा होस् त अब हामी आफैँ बाड्छौं, हामी अन्य दलसँग तालमेल गरेर भए पनि ओलीलाई हराएर देखाउँछौँ ।’ नेपालले थपे ।
नेपालले अध्यक्ष ओलीले २८ फागुनका निर्णय फिर्ता लिएर सुध्रिएर अघि बढ्न सहमत भएमा भने पार्टी एक ढिक्का भएर अघि बढ्ने बताए ।
बिहीबार नेता नेपालले कास्की जिल्ला सङ्गठन बनाइरहँदा काठमाडौँमा भने अध्यक्ष ओलीले नेपाल पक्षीय नेताहरू घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई ६ महिनाका लागि पार्टीबाट निलम्बन गरेका छन् । ओलीको यो निर्णयसँगै एमाले भित्रको विवाद साम्य हुने भन्दा झनै उचाइमा पुने देखिएको छ ।