काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले एमाले विभाजन हुन नदिने गरी पहलकदमी सुरु गरेकी छिन्। प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल लगायतका चार नेताहरूलाई ६ महिनाका लागि पार्टीबाट निलम्बन गरेपछि फुटको सङ्घारमा उभिएको एमाले बचाउन राष्ट्रपतिले पहलकदमी लिन थालेकी हुन्। उनले शनिवार एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई डल्लु पुगेर एमाले बचाउन आग्रह गरेकी हुन्।
उनीहरूबिच ४८ मिनेट कुराकानी भएको छ। शनिवार दिउँसो राष्ट्रपति भण्डारी खनाललाई भेट्न उनको निवास डल्लु पुगेकी थिइन्। खनाल निवासमा राष्ट्रपति ४८ मिनेटसम्म कुराकानी भएको थियो।
डल्लुमा इतिहासविद् महेश राज पन्तले आफ्नै घरमा स्थापना गरेको पुस्तकालय हेर्न भनेर गएकी राष्ट्रपति भण्डारी त्यही बहानामा खनाल निवास पनि पुगेकी थिइन। राष्ट्रपति भण्डारीको साथमा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ पनि खनाल निवास गएका थिए।
भण्डारीले विभाजनको सङ्घारमा रहेको नेकपा एमालेको विषयमा चासो राखेको स्रोतले जनाएको छ। पाटी फुटतर्फ उन्मुख रहेको र फुटको अवस्थामा पुगेको एमालेलाई एकताबद्ध बनाएर अगाडि बढाउनका लागि पहल गर्न भण्डारीले आग्रह गरेको स्रोतको दाबी छ।
‘पार्टीलाई फुट्नबाट रोक्नु पर्यो। त्यसका लागि तपाईँले पहल गर्नुपर्यो भन्ने आग्रह उहाँले गर्नुभयो’ पार्टी एकताबद्ध भएर जाहोस् भन्ने उहाँको चाहाना छ’, नेता खनाललाई उद्धृत गर्दै स्रोतले भन्यो।
राष्ट्रपतिले खनालको स्वास्थ्यप्रति पनि चासो राखेकी थिइन। सत्तारुढ दल एमाले आन्तरिक विवादमा रुमल्लिएको समयमा राष्ट्रपति भण्डारी खनाल निवास जानुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
सामान्यतया राष्ट्रपति कुनै नेतालाई भेट्न जानु शिष्टाचार बाहिरको विषय हो। खनालले पार्टी एकता जोगाउन एमाले अध्यक्ष ओलीकै भूमिका रहने पार्टीभित्र मिलाएर लैजाने दायित्व ओलीकै भएको बताएका थिए।